नेपाल आइडल यात्राका सागर आले चिन्तित र भावुक बने

  मनास्लु पोष्ट  1102 पटक हेरिएको

चितवनका सागर आलेमगर नेपाल आइडलको मुखैमा पुगेका छन् । अर्थात् नेपाल आइडलको प्रतिस्पर्धीबाट टप चारसम्ममा पुगेका सागर आले यतिबेला थप चिन्तित र भावुक बनेका छन् ।
पछिल्लो समय सामाजिक सञ्जालमा अफवाह फैलाइएको हुँदा आफू चिन्तित बनेको उनी बताउँछन् । पछिल्लो समय चर्चामा आइरहेको रियालिटी शो नेपाल आइडलमा भोटको माध्यमबाट एकपछि अर्कोलाई पछि पार्दै सागर आले यतिबेला नेपाल आइडलको टप चारमा पुग्न सफल भएका छन् ।
आले रियालिटी शोको एकपटक मात्र ‘डेन्जर जोन’ अर्थात् ‘बटम थ्री’मा परेका छन् । ‘सागर आले एमालेका कार्यक्रममा गीत गाउन गयो, एमालेको कार्यकर्ता हो भनेर सामाजिक सञ्जालहरुमा भ्रामक फैलाइएको छ । तर म कुनै दलमा आबद्ध छैन’ काठमाडौँमा रहेका सागर आलेले टेलिफोनमा भने, ‘पहिला एमालेको कार्यक्रममा जाँदाखेरी गीत गाएको थिएँ, त्यतिबेला मेरा फ्यानहरुले फोटो खिचेका थिए । त्यही फोटो हालेर अहिले भ्रामक फैलाइएको छ । म एमाले होइन । मञ्च पाउँदा जुनसुकैको कार्यक्रममा पनि गीत गाउने गरेको थिएँ ।’
सागर आलेको घर भरतपुर महानगर वडा नम्बर १३ पटिहानीमा पर्छ । उनी भरतपुर–१० मा रहेको सप्तगण्डकी क्याम्पसबाट १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । अमर उच्च माध्यमिक विद्यालय पटिहानीबाट स्कुले जीवन सकेका सागरले कक्षा ८ देखि नै गीत गाउन थालेका हुन् ।
स्थानीयस्तरमा भएका विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा भाग लिँदै आएका सागर पछिल्लो पटक ‘भर्सटायल’ गायकको रुपमा चिनिँदै आएका छन् । ‘म नेपाल आइडल भए पनि वा नभए पनि म आफू गायन कलामा अब पोख्त भइसकें । नेपाल आइडलले जुन प्लेट फर्म दियो, यो नै मेरा लागि अब काफी भएको छ । गायनमै मैले अब धेरै गर्नसक्छु तर बिन्ती भ्रामक कुरा सामाजिक सञ्जालमा नफैलाइदिनुहोला’ सागर आलेले भने ।
आलेले लोक, पप, आधुनिक, रकजस्ता सबै खालका गीत गाउन सक्छन् । यसअघि भएका चितवनका विभिन्न कार्यक्रमहरुमा उनले आफ्नो गायन कला देखाइसकेका छन् । यसअघि भएको चितवन आइडलमा सागर आठौँ भएका थिए । बिग आइकनमा उनी फस्ट रन र अप भएका थिए । नेपाली तारामा टप २० को सेलेक्सनबाट सागर आले आउट भएका थिए । ‘जजबाट राम्रो रेस्पोन्स पाइरहेको छु, मलाई धेरै फ्यानहरुले सहयोग गरिरहेका छन्, अझै गर्छन्’ उनले भने ।
सागर आलेले फेसबुकमा स्टाटस लेखेर आफूविरुद्ध फैलाइएको भ्रामक खबरलाई चिर्ने कामसमेत गरेका छन् । ‘म एक कलाकार हुँ, त्यो पनि तपाइँहरुले बनाइदिएको कलाकार । म अनुरोध गर्छु कलाकार कुनै दल, जाति, वर्ग वा धर्म विशेष हुँदैनन्’ आलेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी आफू नेपाली हुनमा नै गर्व रहेको बताउँछन् ।
‘मलाई त्यो सामाजिक एकताको परिधिभन्दा परको संस्कारमा नधकेल्नुहोला । कुनै दल विशेषभन्दा पनि नेपाली हुनमा नै गर्व छ’ उनको स्टाटसमा भनिएको छ, ‘तपाइँहरुको मायाबिना म केही कोही पनि होइन, म जहाँ छु, जे छु सबै तपाइँहरु सबैको साथ सहयोग र मायाले हो र अझै आशा पनि लिएको छु । यी सबै कुराको गुण तिर्न मसँग हृदयदेखिको आभारबाहेक अर्को कुनै शव्द वा उपाय छैन । तर यति भन्छु, देश र जनताले दिएको अपार मायाको म सधैँ कदर गर्नेछु ।’  हिमालय खबर 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार