भाद्र १७, २०७४- प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले तयारीको काम लगभग सकिएको र अब मतदान केन्द्रमा कर्मचारी खटिनमात्र बाँकी रहेको बताए । उम्मेदवारी मनोनयन भदौ २१ गते तोकिएको छ । उम्मेदवारी दर्तासँगै चुनावी प्रक्रियाले थप गति लिने छ ।
भदौ १२ देखि सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको र १५ गतेदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकहरु घरदैलोमा परिचालन गरिएको जानकारी ढकालले दिए । उनका अनुसार आयोगले मतदाता शिक्षाका लागि ३५ सयभन्दा बढी स्वयंसेवक परिचालन गरेको छ । निर्वाचन कार्यालयदेखि मतदान केन्द्रसम्ममा करीब ३१ हजार कर्मचारी परिचालन हुनेछन् ।
मुख्य निर्वाचन अधिकृतले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी निर्वाचनमा खटिने कर्मचारीहरुको व्यवस्थापन गरिरहेको ढकालले बताए । प्रदेश नम्बर २ मा मात्रै निर्वाचन हुन गइरहेकाले प्रत्येक मतदान केन्द्रमा प्रशस्तै सुरक्षाकर्मी पनि परिचालनको तयारी गरिएको छ । म्यादी प्रहरी नराखिने भएपछि नियमित सुरक्षाकर्मी नै ठूलो संख्यामा २ नं. प्रदेशमा खटाइएको छ ।
मतपत्र र मतदान सामग्रह आयोगले दोस्रो चरणको निर्वाचन पूर्व नै पठाइसकेको छ । सुरक्षाकर्मीको जिम्मामा रहेका ती समाग्री प्रमुख निर्वाचन अधिकृतहरूलाई हस्तान्तरण गरिसकिएको छ । दोस्रो चरणमा असार १४ मा नै निर्वाचन हुने तयारी रहेका बेला प्रदेश नम्बर २ को निर्वाचन मात्रै तेस्रो चरणमा गर्ने गरी सारिएको थियो ।
प्रदेश नम्बर ३, ४ र ६ को २ सय ८३ स्थानीय तहमा पहिलो चरणमै बैशाख ३१ मा, प्रदेश नम्बर १, ५ र ७ को ३ सय ३४ स्थानीय तहमा दोस्रो चरणमा असार १४ मा निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा निर्वाचनको तयारी भइरहेका बेला सर्वोच्च अदालतले सरकारको पूर्व निर्णय कार्यान्वयनको आदेश दिएपछि थपिएका ९ वटसहित १ सय ३६ स्थानीय तहमा निर्वाचन हुन लागेको हो । स्थानीय तहको कुल संख्या ७ सय ५३ पुगेको छ ।
संविधान संशोधनको विषयलाई संसदले टुंगो लगाएपछि निर्वाचनको बहिष्कार गर्दै आएको राष्ट्रिय जनता पार्टीसमेतले चुनावमा भाग लिने निर्णय लिएपछि प्रदेश नम्बर २ को चुनावमा रौनकता थपिएको छ । सुरक्षा दृष्टिकोणले पनि चुनौती घटेका छन् । संसदबाट संविधान संशोधन फेल भएको थियो । तर, पास वा फेल जे भए पनि त्यसलाई स्विकारेर चुनावमा जाने राजपाको निर्णयले २ नं. प्रदेशमा स्थानीय तहको चुनावका लागि राजनीतिक वातावरण बनेको हो ।
प्रदेश नम्बर २ मा १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । ती स्थानीय तहो वडा संख्या १ हजार २ सय ७१ रहेको छ । कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० छन् । कुल ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ ।
सबभन्दा बढी स्थानीय तह सर्लाहीमा छन् । त्यहाँ ११ नगरपालिका र ९ गाउँपालिका छन् । उक्त जिल्लामा ३ लाख ६६ हजार ६ सय मतदाता छन् ।
सबभन्दा बढी नगरपालिका भएको जिल्ला रौतहट छ । त्यहाँ १६ नगरपालिका र २ गाउँपालिका छन् । मतदाता संख्या ३ लाख २१ हजार १८ जना छन् ।
सबभन्दा बढी मतदाता रहेको धनुषा जिल्लामा जनकपुर उपमहानगर, ११ नगरपालिका र ६ गाउँपालिका छन् । त्यहाँ ३ लाख ८९ हजार ३ सय ९१ मतदाता छन् ।
प्रदेशभरीमा एकमात्र बीरगन्ज महानगरपालिका रहेको पर्सा जिल्लामा अन्य ३ नगरपालिका र १० गाउँपालिका छन् । त्यहाँ ८ जिल्लाको तुलनामा सबभन्दा कम २ लाख ८० हजार २ सय १२ जना मतदाता छन् । कलैया र सिमरा गरी दुई उपमहानगर रहेको बारामा अन्य ५ नगरपालिका र ९ गाउँपालिका छन् । त्यहाँ ३ लाख ३४ हजार ७ सय ४६ जना मतदाता छन् । ८ नगरपालिका र ९ गाउँपालिका रहेको सिरहाको मतदाता संख्या ३ लाख ३२ हजार ८ सय ९५ छ ।
९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीमा ३ लाख ३१ हजार ६ सय ७९ मतदाता छन् । १० नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीमा मतदाता संख्या ३ लाख ८ हजार ४ सय ९ छन् ।
प्रदेश नम्बर २ मा खटिए चार आयुक्त
प्रदेश नम्बर २ का ८ जिल्लमा स्थानीय तह निर्वाचनको सम्पूर्ण अनुगमनका लागि निर्वाचन आयोगका चार आयुक्त शनिबारबाट खटिएका छन् ।
आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनको समग्र तयारीको अवस्था, सामग्री व्यवस्थापन, निर्वाचन आचारसंहिताको पालना र सुरक्षा बन्दोबस्तलगायतका पक्षहरुको अनुगमनका लागि आयुक्तहरु प्रदेश नम्बर २ का जिल्लाहरूमा गएका हुन् ।
धनुषा र महोत्तरीमा आयुक्त इला शर्मा, रौतहट र सर्लाहीका लागि नरेन्द्र दाहाल, पर्सा र बाराका लागि ईश्वरीप्रसाद पौडेल तथा सप्तरी र सिरहाका लागि सुधीरकुमार शाह आयोगबाट खटिएका छन् ।