मेरै जीवनकालमा राष्ट्रपतीय प्रणाली लागू हुन्छ : डा. बाबुराम भट्टराई

  मनास्लु पोष्ट  664 पटक हेरिएको

काठमाडौं, १८ भदौ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै जीवनकालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू हुने विश्वास व्यक्त गरेका छन् ।

आइतबार राजधानीमा राजनीतिक स्थायित्व, समृद्धि र सुसाशनका निम्ति प्रत्यक्ष राष्ट्रपतीय प्रणाली विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले कुनैपनि युग र समयको महत्वलाई ध्यानमा राखी नेपालमा अहिले जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको आवश्यकता रहेको जिकिर गरे ।

संयोजक भट्टराईले नेपालको राजनीतिक स्थायित्व नभएसम्म नेपालको विकास हुन नसक्ने भन्दै त्यसको लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय व्यवस्था हुनुपर्ने जोड पनि दिए । उनले भने, ‘नेपालको राजनीतिक स्थायीत्वका लागि राजनीतिक प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुनुपर्छ, त्यसभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् हुनुपर्छ । प्रत्यक्ष कार्यकारी भइसकेपछि राष्ट्रपतिले आफूलाई मन लागेको मन्त्री राख्न पाउँछ भने पूर्ण समानुपातिक संसद्ले नीति नियम बनाउँछ, यसले एक अर्कालाई ‘चेक एण्ड  ब्यालेन्स’को काम गर्छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्ति नेपालका संयोजक भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको लागि संसदभित्र र संसद् बाहिर रहेका दलहरुलाई, देश विदेशमा रहेका युवाहरुलाई र पत्रकारहरुलाई समेत यस विषय उठाउन आह्वान गरे ।

उनले माओवादी केन्द्रमै रहँदा संविधान जारी गर्नुभन्दा पहिले आफूले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको माग गरे पनि केही साथीहरुको असहमतिले त्यो सफल नभएको स्पष्ट्र समेत पारे ।

संयोजक भट्टराईले नेपालमा राजनीतिक स्थायित्व नभएमा विदेशी लगानीकर्ताहरु नआउने पनि बताए । उनले हाम्रो समाजमा रहेका सबै खाले समस्यालाई एकैचोटी समाधान गर्न नसक्ने भन्दै त्यसलाई समयको मागअनुसार बिस्तारै बदल्लै लानुपर्ने पनि अौल्याए । उनले नेपाल नेपालको अौद्योगिक विकास गर्नु पर्ने र हाम्रो प्रतिव्यक्ति आयलाई पनि १० गुणा बढाउनुपर्ने जिकिर गरे ।

कार्यक्रममा एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालमा स्थिर सरकार नभएकाले नेपालम चलायमान लुटतन्त्र दिनप्रतिदिन बढ्दै गएको बताए । त्यस्तैगरी नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको भन्दै देशले एउटा स्थिरता खोजेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रदीप गिरीले भने आफू प्रत्यक्ष राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको भएपनि आफ्नो पार्टी यसको पक्षमा नरहेको जानकारी दिए । उनले बरु नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई यो विषयको उठान गरिदिएकोमा धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार