भाद्र १८, २०७४- निर्वाचन आयुक्त सुधिरकुमार शाहले प्रदेश र संघिय संसदको निर्वाचनलाई लक्षित गरि जारी गरिएको आचारसंहिता कुनैपनि हालतमा फिर्ता नहुने बताएका छन् । कसैले भन्दैमा लागु भइसकेको आचारसंहिता फिर्ता नहुने उनले बताए ।
शनिबार सरकारका उपप्रधान एवं संघिय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राजविराजमा संसद र प्रदेशको निर्वाचनलाई लक्षित गरि अहिले नै निर्वाचन आचारसंहिता लागु गर्दा सरकारको हातखुटा बाँधिएको र दैनिक कामकाज नै प्रभावित भएको भन्दै आचारसंहिताबारे पुनर्विचार गर्न सरकारले आयोगलाई आग्रह गर्ने बताएका थिए ।
‘निर्वाचन आयोगले सरकारसित सोधेर आचारसंहिता लगाएको होइन,’ सप्तरी सदरमुकाम राजविराजमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयुक्त शाहले भने, ‘आचारसंहिता आयोगले जारी गर्ने हो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जारी गरिएको हो यो फिर्ता हुँदैन ।’ कसैको आग्रहमा आचारसंहिता फिर्ता नहुने बताउँदै आयुक्त शाहले भने, ‘यो कुनै पनि हालतमा फिर्ता हँुदैन, फिर्ता भएको सुन्नुभयो भने मलाई फटहा भन्नु होला ।’
पहिलो संविधानसभाको निर्वाचनमा ८६ दिन अघि, दोश्रो संविधान सभाको निर्वाचनमा १ सय १३ दिन अघि, प्रथम चरणको स्थानीय तह निर्वाचनमा ७४ दिन अघि आचारसंहिता लागु भएको स्मरण गराउँदै आयुक्त शाहले मंसिर १० र २१ गतेका लागि तोकिएको प्रदेश र संसदको निर्वाचनका लागि पनि ८६ दिन अघि आचारसंहिता लागु गरिएको जानकारी दिए । उनले आचारसंहिता निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन लागु गरिएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।
उनले आचारसंहिता पालना गराउन आयोगले सबै जिल्लामा सहसचिवस्तरको कर्मचारीको नेतृत्वमा अनुगमन टोली खटाएको र छुटै सुक्ष्म अनुगमनकर्ता पनि खटाइने जानकारी दिए । आयुक्त शाहले निर्वाचनको मनोनयनका बेला उम्मेदवारहरुलाई बढी तडकभडक नगर्न सुझाव दिए ।
आयुक्त शाहले २ नम्बर प्रदेशमा हुन गईरहेको स्थानिय तहको निर्वाचनमा सुरक्षाबारे चिन्ता व्यक्त गरे । उनले भने, ‘यो निर्वाचनमा दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाले मुठभेडको स्थिती नआओस् भन्ने हाम्रो आग्रह हो ।’
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनका बेला दलहरुबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण २ जनाको ज्यान गएको बताउँदै २ नम्बर प्रदेशको निर्वाचनका बेला सुरक्षा व्यवस्था अझै प्रभावकारी बनाइने बताए ।