१९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रतिनिधिसभाको चुनावमा गोरखा २ बाटै चुनाव लड्ने तयारी गरेका छन् ।
सरकारले मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव गर्ने घोषणा गरिसकेको छ ।
सोमबार सञ्चारकर्मीहरुसँग भएको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले गोरखाबाटै चुनाव लड्ने योजना सुनाए । उनले भने, ‘पार्टीमा कुनै निर्णय भएको छैन । तर, मेरो आफ्नो जन्मथलोबाटै चुनाव लड्छु ।’
उनले आसन्न संसद र प्रदेश सभाको चुनावमा आफ्नो पार्टीले सम्मानजनक मत ल्याउने दाबी गरे । नयाँ शक्ति राष्ट्रिय पार्टी बन्ने उनको विश्लेषण छ ।
संसदले सोमबार मात्र पारित गरेको प्रतिनिधिसभा निर्वाचनसम्वन्धी कानुनमा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षमा कम्तिमा एक सिट जित्ने दलले राष्ट्रिय पार्टीको मान्यता पाउने व्यवस्था छ ।
संसदीय चुनावपछि भ्रष्टाचार लगायतका मुद्दामा आन्दोलन हुने र त्यसको नेतृत्व नयाँ शक्तिले गर्ने दाबी गरे । साथै त्यसपछि हुने संसदीय चुनावमा भने नयाँ शक्ति देशको प्रमुख राजनीतिक शक्ति हुने दाबी गरे ।