मनाङमा जिप दुर्घटनामा एक महिलाको मृत्यु, चालकसहित १२ जना घाईते

  कल्पना थापा  679 पटक हेरिएको

लमजुङ डेली डटकम, २० भदौ । हिमालपारिको जिल्ला मनाङमा भएको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी नेस्याङ–३ ङावलकी ६३ बर्षिया ङिमाछोमा लामाको घटनास्थलमै मृत्यु भएको हो ।

 

नासोङ गाउँपालिका–३ धारापानीबाट मनाङ जाँदै गरेको ग १ ज ६३१५ नम्बरको जीप नेस्याङ–१ भ्राताङ खोलामा निर्माण गरिएको मोटरेवल पुलसँगै रहेको मोडबाट मस्र्याङ्दी नदीमा खसको मनाङका प्रहरी नायव उपरिक्षक बिरबहादुर पुलामीले जानकारी दिए ।

दुर्घटनमा परी चालकसहित १२ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा लमजुङ सुन्दरबजारका प्रविण गुरुङ, मोहन गुरुङ, नविन गुरुङ, दिबेन्द्र गुरुङ रहेका छन् । त्यसैगरी काठमाडौं सामाखुशीका लेखबहादुर ठकुरी, दीलबहादुर गुरुङ र हेटौडाका सन्तोष कुमार श्रेष्ठ रहेको मनाङ प्रहरीले जनाएको छ ।

 

यस्तै, अन्शु शेर्पा, विशाल दाहाल र कुश विडारी पनि घाइते भएका छन् । उनिहरु सबैको चामेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सन्तोष कुमार श्रेष्ठको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेकाहरुको उद्धारका लागि चामेस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी तथा केवलजंग गुल्म मनाङका सेना तथा स्थानिय बासीहरु जुटेका थिए ।

 

१४ जना यात्रु लिएर मनाङ हिंडेको सो जीपमा बढि लोड भएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट एकसय मिटर तल मस्र्याङ्दी नदी किनारमा पुगेको पिसाङका राम गुरुङले बताए ।

अघिल्लो महिना मात्रै सोही गाउँपालिकाको पिसाङ खोलामा पनि जीप दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ४ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार