काठमाडौं । एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी खोलेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् । गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । असार ११ मा जन्माएको पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक आज सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्। पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ ।
पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।