अन्नपूर्ण गाउँपालिका–३ दाना घट्टेखोलामा पानीको सतह बढेपछि दुईदिनसम्म हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भयो । दानाकै काभ्रेभीर र मुस्ताङको थासाङ गाउँपालिका–४ मा खसेको पहिरोले यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
सडक खण्ड अन्र्तरगत विभिन्न स्थानमा खसेको साना ठुला पहिरो र खोलामा बढेको पानीको सतहले उत्तरी म्याग्दीका साथै छिमेकी जिल्ला मुस्ताङ आवतजावत गर्ने यात्रुले ठाँउ–ठाउँमा सवारीसाधन परिवर्तन गर्ने गरेका छन् । ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत म्याग्दी र तल्लो मुस्ताङ खण्ड जोखिमपूर्ण छ ।
‘सामान्य बर्षा हुदाँ समेत सडक अवरुद्ध हुन्छ, म्याग्दी खण्डमा धेरै पहिरोले सताएको छ’ बेनी–जोामसोम–सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले भने ।उनले म्याग्दी खण्डमा रघुगंगा गाउँपालिका–१ बेगखोला, अन्नपूर्ण गाउँपालिका–३ गुईठेभीर,घट्टेखोला, काभ्रेभीरमा खसेको पहिरो पन्छाउन निकै समस्या हुने गरेको बताए ।
उनले आयोजनाको कामलाई समेत सहज हुने गरी अवरुद्ध सडकलाई नियमित बनाउने प्रयास गरिएपनि दैनिक खस्ने पहिरोले आजित बनाएको बताए । सडकको अवरुद्ध पन्छाउन सडक विभाग र अन्नपूर्ण गाउँपालिकाले जनशक्ती र डोजरको प्रयोग गरेपनि भदौको दोस्रो सातासम्म यात्रुले सहज यात्रा गर्न पाएका छैनन् ।
पहाडको खोच, कच्ची सडक हिलाम्मे हुदाँ भाडा र निजी सवारीसाधनको यात्रा जोखिमपूर्ण बनाएको मुक्तिनाथ दर्शनमा हिडेका बागलुङका रवी शर्माले बताए ।‘भीरबाट खसेको ढुङ्गाले बृद्धबृद्धालाई चोट लाग्यो ।बाटोमा विदेशी पर्यटकहरु घाईते अवस्थामा समेत भेटिए’ शर्माले भने ।
म्याग्दी खण्डमा भूकम्पले हल्लिएका भीरबाट समान्य मौसममा समेत ढुंगा खस्ने गरेको बताउँदै बर्खायाममा बैकिल्पक मार्गको ब्यवस्था गनुपर्नेमा जोड दिए । जिल्लाको उत्तरी क्षेत्र, मुस्ताङका बासिन्दाका साथै मुक्तिनाथको दर्शनमा आउने तिर्थयात्रु, भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले प्रयोग गर्ने सडक पहिरो र बाढीले छियाछिया भएको छ ।
गतबर्ष बेगखोलामा आएका बाढीले बस्ती, बेलिब्रिज बगाएपनि सम्बन्धित निकायले खोलामा पक्की पूल बनाउने तर्फ ध्यान नदिदाँ सवारीसाधनका साथै पदैलयात्रीलाई समेत सास्ती भएको स्थानीयबासीको भनाई छ । पहिरो सडकखण्डमा यात्रा गर्न जोखिम बनाएपछि जिल्ला प्रशासन कार्यालय, यातायात ब्यवसायी लगाएत सरोकारवाला निकायले साउन ५ देखी भदौको तेस्रो सातासम्म बेलुकी ५ः३० देखी विहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको छ ।
हिन्दु नेपालीले स्रोहश्राद्धमा कागबेनीमा स्नान गरी मुक्तिनाथ मन्दिरको दर्शनमा जाने भएकाले पनि सडकलाई ब्यवस्थित बनाउन पहल भइरहेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले बताए ।‘बर्षा रोकिएलगत्तै सडकखण्डमा मर्मत हुन्छ ।यात्रुलाई सहज आवतजावत गर्ने गरी जोखिमपूर्ण स्थानमा मर्मत गरिन्छ‘ उनले भने । देशका विभिन्न जिल्लाका साथै भारतबाट समेत ठुलो संख्यामा तिर्थयात्री सडकमार्ग हुदै मुस्ताङ जाने गरेका छन् । पछिल्लो एक दशकमा सडक खण्ड अन्र्तरगत विभिन्न स्थानमा दुर्घटना हुदाँ ठुलो संख्यामा यात्रुले ज्यान गुमाउनुपरेको छ ।