काठमाडौं । उपत्यकामा दुई साताभन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध पैmलिएको छ । लामो समय फोहोर नउठ्दा चोक तथा गल्ली–गल्लीमा फैलिएको दुर्गन्धका कारण हैजा फैलने सम्भावना बढेको छ । उपत्यकामा जताततै फोहोर थुप्रिँदा सुन्दर काठमाडौं कुरूप बन्न पुगेको छ ।
कलंकी सीतापाइला, बालाजु, माछापोखरी, गंगबु क्षेत्रमा मुख्य रोडवरिपरि फोहोरका डंगुर छन् । सबैभन्दा बढी कुरूप र फोहोरको डंगुर गंगबु बसपार्क क्षेत्रमा थुप्रिएको छ ।
त्यस्तै, महाराजगन्ज, त्रिपुरेश्वर तथा विभिन्न खोलाका करिडोर क्षेत्रमा पनि फोहोर थुप्रिँदा हिँड्डुल गर्नै असहज भइरहेको छ । सरकारी निकाय भने रमिते बनेको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको गैरजिम्मेवारीपनका कारण समस्या देखिएको हो ।
काठमाडौं महानगरपालिका, वातावरण विभाग प्रमुख सरिता राईले लामो समय फोहोर उठ्न नसक्दा हैजा फैलनसक्ने खतरा बढेको बताइन् । उनका अनुसार बाटो निर्माणका लागि काठमाडौंवासीलाई एक साता घरमै फोहोर राख्न अनुरोध गरेपछि पुनः उठाउन थाल्दा अवरोध आएको हो । ‘स्थानीयले केही माग राखेर अवरोध गर्नुभएको छ,’ उनले भनिन्, ‘त्यसकारण फोहोर सहज रूपमा उठ्न सकेको छैन ।’
नुवाकोट सिसडोल ल्यान्डफिल्ड साइटका स्थानीयले विभिन्न माग राखेर फोहोरका गाडी अवरोध गरेपछि पुनः फोहोर उठाउने कार्य रोकिएको हो ।
यसअघि, महानगरपालिकाले एक साताका लागि बाटो निर्माणको कार्य भइरहेकाले फोहोर नउठ्ने र सो समयसम्म घरमै फोहोर वर्गीकरण गरेर राख्न अनुरोध गरेको थियो । महानगरपालिकाले एक साता फोहोर उठ्ने सूचना जारी गर्नुभन्दा एक साताअघि नै काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा फोहोर उठ्न छाडिसकेको थियो ।
गत जेठ अन्तिम साता सरकार र स्थानीयबीच सहमति भएसँगै फोहोर उठाउन थालिएको थियो । स्थानीयले जग्गा अधिग्रहण प्रक्रिया थालनी गरिनुपर्ने, फोहोर संकलन गर्दा नै कुहिने र नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोर मल कारखानामा लैजानुपर्ने, स्थानीय समुदायको रोजगारसम्बन्धी व्यवस्था हुनुपर्ने, स्वास्थ्य बिमा व्यवस्था हुनुपर्ने, सडक स्तरोन्नति गरिनुपर्नेजस्ता माग राख्दै आएका थिए । स्थानीय माग सम्बोधन गर्नमा सरकार सकारात्मक देखिएपछि सहमति जुटेको थियो ।
सरकार, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबीच सहमतिअनुसार सरकारले बाटो निर्माणलगायत धमाधम गर्दै आएको छ । फेरि कतिपय स्थानीयले भने फोहोरका गाडीका कारण दुध बोक्ने गाडीलाई समस्या भएको, बाटोमा दुर्गन्ध फैलिएको लगायत कारण देखाउँदै फोहोरका गाडी आवातजावतमा अवरोध पु¥याएका छन् ।
सरकारले स्थानीयको एउटा समूहसँग वार्ता सहमति गर्नेगरे पनि विभिन्न समय अलगअलग समूहले विभिन्न मागमा फोहोरका गाडी आवातजावतमा समस्या पार्ने गरेको पाइएको छ ।
१६ वर्षदेखि नुवाकोट सिसडोलमा काठमाडौं, ललितपुरलगायतको फोहोर फालिँदै आएको छ । सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सीमास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
यसअघि, गत वैशाखमा झन्डै एक महिना काठमाडौंको फोहोर उठ्न सकेको थिएन । त्यसअघि दुई साता स्थानीयले फोहोरका गाडीलाई अवरोध गरेका थिए ।