कुनै समय प्रजातान्त्रिक आन्दोलनकै पर्याय बनेकी म्यानमारकी नेता आङ सान सुकी लामो समय राजनीतिक बन्दी जीवन बिताइन्। सन् १९८८ को राष्ट्रपति निर्वाचन जितेपछि उनको प्रजातान्त्रिक लडाइँ सुरु भएको थियो । त्यतिबेला सैनिक शासनले निर्वाचन परिणाम अस्वीकार गर्दै सुकीलाई १५ वर्ष नजरबन्द राख्यो । यसैबीच सन् १९९१ मा उनी नोबेल शान्ति पुरस्कारबाट सम्मानित भइन्।
तर, अहिले उनै नोबेल विजेता सुकीमाथि नागरिक हकको पक्षमा बोल्न नसकेको आरोप लाग्न थालेको छ । अल्पसंख्यक मुस्लिम समुदाय रोहिंगामाथि भइरहेको हिंसा र दमनविरुद्ध मौन बसेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट सुकीको आलोचना भइरहेको छ। उक्त मामिलामा अप्रत्यासित ढंगले चुप बसेकी सूकीको आड पाउने आश लिएका रोहिंगालाई मात्र होइन, अल्पसंख्यकको बाँच्ने अधिकारका पक्षमा सुकीले मुख खोल्ने अन्तर्राीष्ट्रय भरोसा पनि टुटेको छ।
रोहिंगा मुद्दाबारे सन् २०१३ को अन्तर्वार्तामा अन्तिमचोटि मुख खोल्दै सुकीले भनेकी थिइन्, ‘यो जातीय सफाया होइन।’ त्यसयता बहुसंख्यक बौद्ध समुदाय रुष्ट हुने डरले उनी मौन रहेको आरोप छ। आफ्नै पार्टी ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) सत्तामा रहँदा पनि केही नबोल्नु अर्थपूर्ण रहेको आलोचक बताउँछन्। पार्टीको राजनीतिक भविष्यका खातिर उनले मौनता साँधेकी हुन् पनि भनिन्छ।
पार्टीको दायरामा नसमेटिने गरी उँचो राजनीतिक कद बनाएकी सूकीको मौनताले म्यानमारका उत्पीडित मुस्लिम समुदाय र नागरिक हकका पक्षमा आवाज उठाउने सबैलाई निराश बनाएको छ। त्यही भएर सुकीको नोबेल शान्ति पुरस्कार फिर्ता लिन नोबेल पुरस्कार समितिमाथि दबाब बढ्दै गएको छ। यो दबाब म्यानमारमा रोहिंगा समुदायमाथि चर्किएको दोस्रो हिंसाको उपज हो।
रोहिंगा भनेको म्यानमारको तटीय क्षेत्र रखनमा बस्ने अल्पसंख्यक मुस्लिम समुदाय हो। बौद्ध समुदायबाट दशकौंदेखि दमन सहँदै आएका रोहिंगालाई सैनिक शासन बेला नागरिक हकबाट वञ्चित गरियो। सैनिक शासकले उनीहरूको नागरिकता खोसेर सामूहिक हत्या र बलात्कारको शिकार बनाएको राष्ट्रसंघले जनाएको छ। यसले दसौं हजार रोहिंगा देश छाडेर शरणार्थी जीवन बिताउन बाध्य छन्।
पहिलो चरणको हिंसाको प्रतिक्रियास्वरुप रोहिंगा छापामार समूहले यही अगस्ट २५ मा सरकारी सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। त्यसयता म्यानमार सुरक्षा फौज र बौद्ध प्रदर्शनकारीले रोहिंगामाथि सामूहिक हिंसा मच्चाएका छन्। पछिल्लो एक सातामै सुरक्षा कारबाहीबाट ज्यान जोगाउँदै दसौं हजार रोहिंगा बंगलादेश छिरेका छन्।
सरकारी फौजले रोहिंगा बसोबास गर्ने गाउँमा हेलिकप्टरबाट गोली बर्साएर सामूहिक हत्याकाण्ड मच्चाएको त्यहाँबाट भागेर बंगलादेश पुगेका भुक्तमानहरू बताउँछन्। हिंसाबाट ज्यान जोगाएर भागेकालाई पनि सुरक्षा फौजले छाडेका छैनन्। यसैपालि सयौं जनाको ज्यान गइसकेको आकलन छ। सरकारी आँकडाअअनुसार म्यानमारसँग जोडिएका बंगलादेशी सीमावर्ती स्थलमा चार लाखभन्दा बढी रोहिंगा शरणार्थी छन्। उनीहरु शिविरमा क्षमताभन्दा बढी व्यक्ति कोचिएर बस्नुपर्दा कष्टकर अवस्थामा छन् ।
राष्ट्रसंघका अनुसार पछिल्लो एक सातामै सैनिक दमनको शिकार भई बंगलादेश छिरेका रोहिंगाको संख्या गत शनिबार ७६ हजार पुगेको छ। शुक्रबार एक दिनमै जति रोहिंगाले देश छाडे, त्यति त पछिल्लो एक पुस्तामै कहिल्यै नभएको बंगलादेशको ढाकास्थित राष्ट्रसंघीय कार्यालयले जनाएको छ।
– न्यूयोर्क टाइम्सबाट संक्षिप्त भावानुवाद