राति श्रीमानसँगै खाना खाएकी गीता बिहान छोराछोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन्…

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  64 पटक हेरिएको

बझाङको बुंगल नगरपालिका–९ रारुका पुष्कर पार्कीको ४ जनाको परिवार थियो – आफू, श्रीमती गीता, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित।

विपन्न पार्की घरखर्च चलाउन भारतमा मजदुरी गर्छन्। खेतीपाती लगाएर खाली समयमा खर्च जोहो गर्न मजदुरीका लागि उनी भारत आवतजावत गरिरहन्छन्।

भारतको पिथौरागढमा काम गरिरहेका पुष्कर मंगलबार राति घर फर्किए। मध्यराति १२ बजेतिर घर पुगेका पुष्करको सोही राति आफूबाहेक परिवार सखाप भएको छ।

उनका श्रीमती र दुई साना छोराछोरी घरभन्दा १५० मिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए।

पुष्करले मध्यराति परिवार सँगै खाना खाएका थिए।

‘पिथौरागढबाट फर्किएपछि राति १२ बजेतिर श्रीमतीसँगै खाना खाएका रहेछन्, पछि के भयो खुलेको छैन’, बुंगल नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हरिशबहादुर सिंहले भने, ‘बिहान घाँस काट्न गएका छिमेकीले उनीहरूलाई रुखमा झुण्डिएको देखेका थिए।’

सानो रुखमा छोराछोरी दोपट्टा र आमा गीता डोरीले झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

‘अहिले स्थानीयसँग बुझ्दा त्यस्तो परिवारमा केही कलह रहेको सुनिएको छैन’, वडाध्यक्ष सिंहले भने, ‘(राति) १२ बजेपछि घटना भएको हुन सक्ने आशंका छ।’

बुधबार बिहान ६ बजेतिर घाँस काट्न गएकाहरूले गीता र उनका छोराछोरी रुखमा झुण्डिएको देखेपछि श्रीमान् पुष्कर र गाउँले हुँदै प्रहरीलाई खबर गरे।

त्यसपछि यो दुःखद् खबर गाउँभर फैलियो। र, घटनास्थलमा स्थानीय इलाका प्रहरी कार्यालय बुंगलको टोली पुग्यो।

बुधबार बेलुका जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थी नेतृत्वको टोली पनि घटनास्थल पुगेको छ।

गीताले छोराछोरी सहित आत्महत्या गरेकी हुन् वा कसैले हत्या गरेर झुण्ड्याइएको हो यकिन हुन सकेको छैन। घटना शंकास्पद रहेकाले सत्यतथ्य छानबिन हुनुपर्ने स्थानीयले माग गरेका छन्।

घटनाबारे मृतक गीताका श्रीमानसँग सोधपुछ भइरहेको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए।

मृतक गीताका श्रीमान् मंगलबार मात्रै भारतबाट घर पुगेको अनुसन्धानबाट खुलेको छ। ‘मृतकका श्रीमान् हाम्रो निगरानीमै छन्, उनीमाथि घटनाका बारेमा सोधपुछ गरिरहेका छौँ’, अवस्थीले भने, ‘प्रहरीको सम्पर्कमै छन्, भागेका छैनन्।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार