शिया धर्मगुरुको राजीनामा घोषणापछि झडप, २० जनाको मृत्यु

  Manaslu Post  67 पटक हेरिएको

इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट राजीनामा दिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायी र सुरक्षा बलबीच सोमबार भएको झडपमा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ। दोहोरो झडपमा धेरै जना प्रदर्शनकारी घाइते भएका छन्।

धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ। यद्यपि हिंसात्मक गतिविधि रोकिएका छैनन्।

यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ। सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग अपनाउन आग्रह गरेको छ। उसले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि  गरेको छ।

कुर्दिश राजनीतिज्ञ मसुद बरजानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन्। उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्वराष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन्।

छिमेकी देश टर्कीले आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ। अङ्काराले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ। इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद बिर्सेर वार्तामा बस्न आह्वान गरेका छन्। रासस/एपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार