चीनले खोज्यो ‘एक चीन नीति’मा प्रतिबद्ध

  Manaslu Post  40 पटक हेरिएको

काठमाडौं । चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वमा आएको टोलीले नेपाली नेतासँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता खोजेको छ । नेपालमा अमेरिकाको नियमित भ्रमण भइरहेका बेला चिनियाँ नेता ली चान्सुले ‘चीनप्रतिको नेपालको धारणा के हो ?’ भनी बुझेका हुन् ।

सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति सी चिङ फिङपछिका सबैभन्दा वरिष्ठ नेता हुन् । चीनले आफ्नो सुरक्षाका लागि नेपालबाट उत्पन्न हुन सक्ने खतरा आँकलन गर्दै चिनियाँ वरिष्ठ नेतालाई नेपाल पठाएको हो ।

यसअघि, चिनियाँ विदेशमन्त्री वाङ यी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्छाओले नेपाल भ्रमण गरेका थिए । उनले पनि चिनियाँ सुरक्षा मामिला विषयलाई लिएर नेपाली नेतासँग धारणा मागेका थिए ।

नेपालमा केही समयदेखि अमेरिकी चासो र नियमित भ्रमण भइरहेका बेला हाल चिनियाँ वरिष्ठ नेता लीको भ्रमण ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता के हो ?’ भन्ने बुझ्न उनी यहाँ आएको विज्ञ बताउँछन् ।

सोमबार आएका लीले सुरुमा सभामुख अग्नि सापकोटासँग भेट गरे । सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष ली चान्सुले अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे । सँगै चिनियाँ नेता लीले ‘नेपालको चीनप्रतिको धारणा के हो ?’ भनी बुझेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा हस्ताक्षर गरिएको समझदारीपत्रमा ‘आपसी विश्वास सदृढ र विकासका लागि एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकासपथको सम्मान गर्न तथा एकअर्काका मूलहित र महत्वपूर्ण सरोकारमा साथ दिन सहमत भएको’ उल्लेख छ ।

भ्रमण दोस्रो दिन मंगलबार चिनियाँ वरिष्ठ नेता लीले नेपालका प्रमुख राजनीतिक दलका नेतासँग भेट गरेका छन् । चिनियाँ नेता लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । भेटमा चिनियाँ नेता लीसँग प्रधानमन्त्री देउवाले ‘चीनविरुद्ध नेपालमा कुनै पनि गतिविधि गर्न नदिइने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले ‘नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको’ जानकारी दिँदै ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको’ उल्लेख गरे । उनले चिनियाँ नेता लीसँग भने, ‘चीनविरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न दिँदैनौं ।’

नेपालको आर्थिक सामाजिक क्षेत्रमा लामो समयदेखि चीनले गर्दै आएको सहयोगमा प्रशंसा गरेका छन् । चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष चान्सुले सन् १९६० को दशकमा तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे । उनले नेपालले आगामी ३ असोजमा मनाउन लागेको नेपालको ‘संविधान दिवस’को शुभकामनासमेत दिए ।

ओलीका चार विषय
त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसँग नेपालको सन्दर्भमा रहेर चार विषय उठान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको भेटमा चान्सुले चिनियाँ राष्ट्रपति सी चिन फिङको सन्देश सुनाएका थिए ।

औपचारिक वार्तामा एमाले अध्यक्ष ओलीले मुख्य रूपमा पहिलो विषय बीआरआईको कुरा उठाएका छन् । लामो समयदेखि बीआरआईअन्तर्गत काम अगाडि बढ्न नसकेको विषयमा ओलीले छलफलको विषयवस्तु हुनुपर्ने चिनियाँ नेता लीसँग राखे ।

दुई नाका खोल्न आग्रह
त्यस्तै, कोरोना महामारीका कारण लामो समयदेखि बन्द सिन्धुपाल्चोक तातोपानी र रसुवागढी नाका खोल्ने विषयमा चिनियाँ नेता लीसँग आग्रह गरेका छन् । साथै, नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।

‘बीआरआई परियोजनामा नेपालले गरेको सम्झौता यथाशीघ्र कार्यान्वयन गराउनुपर्छ भन्ने विषयमा हामी प्रतिबद्ध छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘नेपालको विकास निर्माणमा चीनले गर्दै आएको सहयोगको हामी प्रशंसा गर्छौं ।’

‘एक चीन नीति’प्रति नेपाल सधैं प्रतिबद्ध रहेको ओलीले प्रतिबद्धता जनाए । ‘एक चीन नीतिप्रति नेपाल सधैं प्रतिबद्ध छ,’ ओलीले भने, ‘यसमा सशंकित नहोस्, चीनलाई हेर्ने दृष्टिकोण नेपालको बदलिनेछैन ।’

नाका खोल्ने प्रतिबद्धता
चिनियाँ राष्ट्रिय जनकंग्रेस अध्यक्ष चान्सु लीले रसुवागढी र तातोपानी नाका छिट्टै खुलाउने प्रतिबद्धता जनाएका छन् । संघीय संसद् भवनमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको भेटवर्तामा चिनियाँ नेता लीले प्रतिबद्धता जनाएका हुन् ।

विगतमा भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्झौता कार्यान्वयन, हिमालवारपार (केरुङ–काठमाडौं) रेल सेवा विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनः सञ्चालन तथा चाडबाडका समय बन्द तातोपानी, केरुङ, कोरालालगायत नाका खोल्ने कार्यमा सहयोग गर्न राष्ट्रिय सभा अध्यक्ष तिम्ल्सिेनाले आग्रह गरेका छन् । उनले पनि ‘एक चीन नीति’मा प्रतिबद्धता जनाएका छन् ।

प्रचण्डद्वारा प्रतिबद्धता
नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुसँग आफूहरू ‘एक चीन नीति’मा प्रतिबद्ध रहेको बताएका छन् । चीनविरोधी गतिविधि नेपालमा हुन नदिनेमा नेपाल सधैं सतर्क रहेको चिनियाँ नेता लीसँग उनले बताए ।

भेटमा माओवादी अध्यक्ष प्रचण्डले ‘नेपालको व्यापार घाटा कम गराउन पहल गर्न’समेत आग्रह गरे । चीनसँग बढ्दै गएको व्यापार घाटा सन्तुलनमा ल्याउन सहयोग गर्नुपर्ने उनको जोड छ । जवाफमा चान्सुले ‘चीन सरकारलाई यस’bout भनेर सम्बोधन गर्ने’ प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार