१. पृष्ठभूमि
मष्टो देवता खस (क्षेत्रीहरु) को कुल देवता भित्र पनि बाह्र भाइ मष्टो मध्ये जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नं. ८, कफल्लाँमा रहेको दुध्या (दुधे) मष्टो कर्णाली, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशको प्रख्यात देवता मानिन्छ । मष्टो देवता शान्त, दयालु, क्षमाशील, र चाँडै खुशीहुने शिव अंश मानिने मूतः सात्विक देवता हुन । सात्विक पुजामा यिनलाई अक्षता, फुलपाती, दुध, दशी, घीउ (नौनी), र बाबर चढाइन्छ । साथै शुद्ध नौनी घीउ र धुपीद्धारा हवन गरिन्छ । यस मष्टो देवता केहि मौलिक विशेषता छन् । यस कारण पनि यस मष्टो देवतालाई नेपालको मौलिक देवताको रुपमा अभिलेखिकरण, संरक्षण संवद्र्धन गर्न जरुरी देखिन्छ । सेवा भट्टराईका अनुसार मष्टोलाई हिन्दू धर्मको बृहत्तर भाष्यमा समेटिदैँ जाँदा यसको रैथाने मर्म विलिन भएको मात्र होइन, स्थानीय कथा, मौलिकता र ऐतिहासिकता पनि मेटिदै छ ।
बाह्र भाइ मष्टोका आ–आफ्नै कथा छन् । यिनीहरुको उत्पत्ति, आगमन तथा उद्गमस्थलका बारेमा भिन्ना भिन्नै किम्वदन्ती, मिथक, जनश्रुती र साँस्कृतिक मान्यताहरु छन् । यस दुध्या मष्टोको पनि आफ्नै मौलिक इतिहास छ । यो यसको जिवनी हो । धामीले देउता काडेका बेला उत्पत्तिदेखि भएका र गरेका अनेकन घटना, कामहरु, चमत्कार राक्षसहरुको विनास, यात्रामा गरेका विचरण भन्दछन् । शुरुवातमा देवता आएको बेला धामीले पडेली (आफ्नै खाम भाषामा बोल्ने) गर्दछन । पडेलीमा बोल्ने भाषा फरक हुन्छ जसलाई देवभाषा पनि भनिन्छ । यस भाषालाई बुझ्न खाबा (दोभासे) चाहिन्छ । मूल पुजारी, डाँग्री, स्थानीय बुढापाकाले खाबाको काम गरिदिन्छन् ।
पडेलीमा मष्टो उत्पत्तिदेखि भोगेका विभिन्न जोखिम यात्रा, संघर्ष र लडाईको बयान हुन्छ भनिन्छ । यहि किम्बदन्ती, मौखिक जनश्रुतीमा रहेको दुध्या मष्टोको इतिहासलाई लिपिबद्ध गर्ने प्रयास गरिएको छ । यस प्रति आममानिसहरुको जनआस्था व्यापक रहेको छ । यसको ऐतिहासिकता, मौलिकता, साँस्कृतिक तथा सामाजिक मूल्यमान्यता, पुरातात्विक रुपमा रहेका थान (मन्दिर), कलात्मक रुपमा कुदिएका काठ, ढुङ्गा, धातु तथा माटोबाट निर्मित मूर्तिहरुको महत्व प्रकाशनमा नआउनाले अझै प्रख्यातीमा कमी भएको होकी भन्ने धारणा पाइन्छ ।
२. मष्टो परम्परा र खस (क्षेत्री) जाती
इतिहास हेर्ने हो भने मष्टो अनुयायीहरु खस समुदायहरु हुन् । यसरी प्रागैतिहासिक आप्रवासको परिणाम स्वरुप खस जाति दुई किसिमले क्रमसः सर्दै कर्णाली प्रदेश आईपुगेको देखिन्छ । खस शासकहरु पामिरको फेरो मारेर पश्चिम चिनको ताक्लामकान उपत्यकाबाट ताजिकिस्तान, ताजिकिस्तानबाट अफगानस्तान, अफगानस्तानबाट पाकिस्तान, पाकिस्तानबाट काश्मीर, काश्मीरबाट गढवाल, गढवालबाट कुमाउँ र कुमाउँबाट नेपाल आएको इतिहासले देखाउँछ ।
इगर मोटका अनुसार खसहरु नेपालका अशोककालिन एउटा जाति थिए । अशोक खस राज्यमा पुग्दा उनको भव्य स्वागत गरिएको थियो । नेपालमा लिच्छविको प्रमाणित इतिहास राजा मनादेवको समयमा वि.स.५२१–५६२ बाट पाइन्छ भने खसहरुको प्रमाणित इतिहास कर्णालीमा छैटौँ शताब्दीमा पाइएको थियो ।
प्रागऐतिहासिक कालदेखि कुन जातिले कुन संस्कार, संस्कृति अवलम्वन गरेका थिए भन्ने बारेमा कमैको प्रमाणित इतिहास भएता पनि मष्टो जुल्लाको सिँजा उपत्यकामा पहिलो खस राजा आदिपालले राज्य स्थापना गरेपछि पछि विकास भएको संस्कृति हो । पाँचाँै शताब्दीतिर स्थानीय आदिवासी मगरहरुलाई दक्षिणबाट लिच्छवि र उत्तरबाट खसहरुको एक जत्थाले एकैसाथ आक्रमण गरेपछि मगर राज्यहरु तहसनहस भई नेपालमा दक्षिणबाट प्रवेश गरेका लिच्छविले काठमाण्डौँ उपत्यका र उत्तरबाट प्रवेश गरेका खसले जुम्ला उपत्यकामा शासन सञ्चालन गर्न थाले ।
मष्टो देवताको उत्पत्ति जुम्ला सिंजा उपत्यकाको उखाडी मानिन्छ । तर कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा भिन्न–भिन्न ठाउँमा भिन्न–भिन्न समयक्रममा बाह्र भाइ मष्टोको उत्पत्ति सम्बन्धि घटनाक्रमहरु रहेको पाइन्छ । मष्टो पुज्नेहरु सबैले बाह्र भाइ मष्टो र नौ बहिनी भवानी÷मालिका भएको मान्यतामा विश्वास गर्दछन् । रत्नाकर देवकोटाका अनुसार बाह्र भाइ मष्टोहरु र तिनीहरुको उत्पत्ति वा मुल थान निम्न स्थानमा रहेको पाइन्छ ।
१. ढडार÷बान्नी मष्टो – जेठो – ढँडार, बझाङ्
२. कवा मष्टो – माहिलो – कवागाउँ, मुगु
३. बुडु मष्टो – साहिलो – बुडुगाउँ सिँजा, जुम्ला
४. थार्प मष्टो – काहिलो – रुगा, मुगु
५. गुरो मष्टो – राहिलो – सोरुदरागाउँ, हुम्ला
६. खापर मष्टो – ठाहिलो – पताँलागाउँ, कालिकोट
७. दा¥या मष्टो – अठाहिलो –
८. दुध्या मष्टो – पठाहिलो – कुशे ८, कफल्लाँ, जाजरकोट
९. विनायक मष्टो – रठाहिलो – कालिकोट
१०. बिजुल्लीडाँडो÷राँगामाझिलो मष्टो – झठाहिलो – बारेकोट, जाजरकोट
११. कालाशिलो मष्टो – कठाहिलो – कालिकोट
१२. बाबिरा÷बार्बरा मष्टो – सबभन्दा कान्छो – बाबिरागाउँ तातोपानी, जुम्ला
मष्टोका नौ बहिनी भवानी÷मालिकाका रुपमा निम्नलाई मान्ने गरिएको छ ।
१. कालिका ६. ठिङ्याल्नी
२. मालिका ७. हिमालिनी
३. कनका सुन्दरी ८. हिमाखिनी
४. जालपा सुन्दरी ९. विन्ध्यावा सिनी
५. त्रिपुरासुन्दरी
यसरी मष्टोको उत्पत्ति र मष्टो शब्दको सृष्टि महेश्वर र अष्ट शिद्धी पार्वतीको संगम रुप (महेष्ठ) र महेष्ठबाट अप्रभंम्स हुँदै कालान्तरमा मष्टो भएको पाइन्छ । मनोहर आचार्यका अनुसार्र शिवमहिम्रस्तोत्र’ मा शिवलार्ई महिष्ठ’ भनेको कुरा अघि सार्र्दै मष्टो’ शब्द त्यसै शब्दबाट व्यत्पन्न भएको निर्णय दिएका छन् । ‘मष्टो’ लाई स्थानीय जन बोलिर्मा मइठो देउता’ महिष्ठ देव भन्दछन् । यसबाट ‘मष्टो’ ‘महिठो’ अथवा ‘मकुठो’ शब्द भगवान शिव जनाउने ‘महिष्ठ’ शब्दबाट बनेको रहेछ भन्ने अर्थ निस्कन्छ । पृथ्वीलाई मानवजातिले आमाको रुपमा हेर्छ भने पृथ्वीको रक्षा गर्ने शिवको अंशको रुपमा मष्टा देवतालाई पृथ्वीको आमाको रुपमा मान्दछ । यसै मान्यताका कारण जमीनको भोग गर्ने मानवजातिले मष्टा देवतालाई मान्दै आएको हो । मष्टा देवतालाई कुनै ठाउँमा शिवको रुपमा पुजिन्छ भने कतै इन्द्रको जायो अर्थात छोरा–नातीको रुपमा पुजिन्छ भन्ने भनाई छ । कुनै ठाउँमा प्रकृतिको प्रतिक मानेर पुजिन्छ । प्रा.डा.सुरेन्द्र केसीका अनुसार, मष्टा भनेको भूमीको आमा, सम्पूर्ण सृष्टिको सृष्टिकर्ता, खस जातिको मुख्य देवता, पथ प्रदर्शक, पालनकर्ता, संभारकर्ता भन्ने बुझिन्छ । मष्टा देवता सम्पूर्ण हिन्दू जातिको नभई खस जातिको इष्टकुल देवता हो ।
मष्टो खस (क्षेत्री) हरुले कुल देवताको रुपमा विभिन्न ठाउँ र परिवेश अनुसार आ–आफ्नै रितिथिति, चालचलन, सामाजिक मुल्यमान्यता र जिवन्त संस्कृतिको रुपमा पुजकहरुले मष्टो माण्डौँ (मन्दिर) अथवा आ–आफ्नो कुलको थानमा आ–आफनो संस्कार अनुसार पुजा गर्ने चलन छ ।
३. कफल्लाँ दुध्या मष्टोको उद्गम स्थल : ऐतिहासिक तथा मौलिक चिनारी
मानव जातिका आ–आफ्नै प्रकारका आदिम कालदेखि मौलिक साँस्कृतिक परम्पराहरु प्रचलनमा छन् । संस्कृति हरेक जातिको जिवन पद्धति हो । संस्कृतिले हरेक मानव जातिको जन्मदेखि मृत्युसम्मको जिवन पद्धतिलाई समेटेको हुन्छ । मूलतः कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेश लगाएत देशैभरी प्रचलित मष्टो देवता एक नेपालको मौलिक तथा साँस्कृतिक परम्परा हो ।
बाह्र भाइ मष्टो मध्ये दुध्या मष्टो अठाहिलो (आठौँ), शारिरीक रुपमा खो¥या वा कुजो (देवता आएको बेला हिडडुल गर्न नसक्ने) देवता हुन् । बाह्र भाइ मष्टोका आ–आफ्नै फरक फरक स्थानमा उत्पत्ति सम्बन्धि मौलिक इतिहास पाइन्छ । कुन मष्टो कुन ठाउँमा कहिले उत्पत्ति भयो भन्ने ऐतिहासिक तथ्य नपाईएता पनि हरेकको आफ्नै मौलिक इतिहास छ ।
जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा न.ं ८, कफल्लाँ दुध्या मष्टो देवताको मुख्य उद्गम स्थल हो । साविक जिल्लाको सरुदरामा रहेको पुरानो प्रसिद्ध देवता हो । कहिले, कुन समयमा यस ठाउँमा मष्टो देवताको आवरण भयो भन्ने बारेमा ऐतिहासिक लिखित प्रमाणहरु छैनन् तर पूर्खादेखि आजसम्म भनिदै र मानिदै आएको मौखिक प्ररम्परा, ऐतिहासिक भौगोलिक तथ्यहरु, देवता मान्ने प्रचलन र प्रसिद्धिलाई आधार मान्दा देशभर मानिने दुध्या मष्टो देवताहरुको उद्गम कफल्लाँ हो । अग्रज बुढापाकाहरुको भनाई अनुसार पूर्खाहरुबाट मौखिक रुपमा पुस्ता हस्तान्तरन हुँदै आएको आगमन सम्बन्धि मौखिक ज्ञान र देवता मान्ने संस्कृतिका हिसावले यो यहाँको ऐतिहासिक मौलिक परम्परा हो ।
धामी, पुजारी, थानी, थपाला, करिया, स्थानीय बुद्धिजिवी र बुढापाकाहरुको किम्वदन्ती अनुसार मष्टो कैलाश मानसरोवरमा उत्पन्न भएपछि कैलाश भगवती माताको काखमा केहि समय हुर्के । हिमालकी देवी नौ बहिनी भवानीले आफुहरु हिमालमा बस्दै आएको हुनाले हिमाल छोड्न नसकिने कुरा गर्छिन् । मष्टो देवतालाई पहाडी भेगका दरखोलामा गई राज गर्ने सल्लाह दिन्छिन् । उक्त सल्लाह बमोजिम मष्टा देवता कैलाशबाट झरी पहाडका भिरपाखा, दराखोला, वन जंगल छिचोल्दै सिकार खेल्दै आफ्नो वाहन भुङ्काल देवता साथमा लिएर जुम्ला हुँदै जाजरकोट जिल्लाको शिर कुशेमुशे पाटनको कुसुमचौरीको फेद मष्टा पातिहाल्न भन्ने स्थानमा आइसकेपछि विश्राम लिएर जाजरकोटको देखिने जति मनोरम भू–भागको अवलोकन गरेछन् । चारैतिर अवलोकन गरिसकेपछि पैँकको जुग्रुगाउँ मन पराई त्यहाँ पुगेछन् । जुग्रु बाहुन गाउँ रहेछ । जोगीको भेषमा भिक्षा मागेछन् । एउटा बुढी बाहुन आइमाईसित “अलग माइ भिक्षा ल्याउ” भन्दा छदम रुपी मष्टालाई नचिनेर ती बाहुन महिलाले हातमा सिगान हालि दिन्छिन र हाच्यौँ गर्दा मष्टाको मुखमा थुक पारिदिन्छिन् । थुकको छिटा पर्दा मष्टोले मुख छोपेछन ।
अहिले पनि मष्टो देवता आएपछि मुख छोप्ने, गालामा हात लगाउने गर्दछन । जोगीको रुप लिएका देवताले पुरै गाउँलाई सराप दिएछन र पुरै बाहुनगाउँ हैजाले सखाप भएछ । त्यसपछि तल घरंगा सरुगाड खोलाको काख खेतमा रहेको ढङ्गामा गएर बसेछन् । त्यहाँ रहेका ठकुरीहरुले पनि वेवास्ता गरेछन । जाँड रक्सी खाने, अशुभ क्रियाकलापहरु गर्ने देखेपछि देवता त्यहाँबाट पनि हिडेछन् ।
छदम् रुपी मष्टा देवता आफ्नो गास बासको ठेगान नहुँदाको समयमा विभिन्न वृन्दावनहरुमा सिकार गर्न र कहिले कतै बास कहिले कतै बास गर्ने गर्दथे । त्यस्तै सिकार खेल्दै जाँदा पैँक गाविसको पुरानो वस्ती रिजाको सिरानमा रहेको सम्मपरेको ठाउँ काँडाचौर पुगेछन् । त्यहाँ रिजामा बस्ने पुन मगरहरुले मान्ने सुवाकोटी देवता रहेछन् । सुवाकोटी देवताले म यहाँ बसेको छु तिमि यसको पारीपट्टी लामाडाँडा जाउँ भनेर भनेछन् । जुन लामाडाँडा भनेको ठाउँ हाल कफल्लाँ भनेर चिनिन्छ । रिजाका सुवाकोटी देवताले मष्टा देवतालाई लामाडाँडा बस म यहाँ बसेको छु । वारीपारीबाट हाम्रो दुःख, सुख साटफेर गरौँला भन्ने सल्लाह दिएपछि मष्टा देवताको रैथाने थलो कफल्लाँ भयो ।
मष्टा देवताले आफ्नो अटुट सेवा, शक्ति परिचालन गरेर जनविश्वास प्राप्त गरी कफल्लाँ वासी मात्र होइन वल्लो गाउँ पल्लो गाउँदेखि लिएर सातसय सिम्तो, चौधसय दाङ, बाइससय जुम्ला लगाएत रुकुम, सल्यान, रोल्पा, सूर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, डोटी, डढेलधुरा लगाएतका वस्तिहरुमा मष्टा देवताको धीत चल्यो । कुल देवताको रुपमा मष्टाको पुजाआजा हुने परम्परा बस्यो ।७ यी क्षेत्रका भक्तजनले शुभकार्य, मनोकाङ्क्षा, धनजनको सुरक्षा, सन्तान प्राप्ति, अन्यायबाट न्याय पाउँ भनि मष्टो देवताको भाकल गरेकोमा कार्य शिद्धी भएको खुशियालीमा हरेक जेठ पूर्णिमा, भदौ पूर्णिमा र मंसिर पूर्णिमामा सयौ भक्तजनहरु आउने गर्दछन ।
४. ऐतिहासिक तथ्यहरु :
४.१ सवैभन्दा निम्न स्तरको व्यक्तिमा देउता आउने :
जब मष्टो देवताले आफ्नो प्रभावलाई समस्त जनमानसको विश्वास जितेर आफुलाई लोकसमाजमा स्थापित गरे तब देखि नै कफल्लाँमा कुल मष्टो र महादेव दुबै देवताको धामी चाँहि एउटै व्यक्ति हुन्थ्यो । विहान पख मष्टो देउताको न्यूतो गरी मष्टो देवतालाई हेराइयो भने त्यहि दिन बेलुका पख पुनः मष्टा देवताको न्यूतो हुँदैनथ्यो । अर्थात विहान मष्टो देवताको निम्तो भयो भने साँझपख महादेवको न्यूतो हुन्थ्यो । एकै दिनमा एउटा देवताको दुई पटक न्यूतो हुँदैनथ्यो ।
मष्टो देवतासँग अनौठो सत्यता थियो । आज भन्दा छैटौँ पुस्ता अगाडी गाउँमा जसको आर्थिक स्थिति कमजोर गया गुज्र्याको हुन्थ्यो उसैको आँङबाट देउता आउँथ्यो । उसले आफ्नो पालामा देवताको सेवा चाखी गर्दथ्यो । त्यसको जिवनकाल पछि पछिल्लो पुस्तामा धामी उसैको छोरानाती नभई गाउँमा सवभन्दा कमजोर को छ उसको घरमा देउता जान्थ्यो र उसलाई हुने खाने बनाउँथ्यो । विधवा आइमाई, टुहुरो छोरो, दुःखी, गरिव, अन्यायमा परेकालाई हेर्दथ्यो । छैटौँ पुस्ता अगाडी को–को र कतिजना कति समयसम्म धामी भए भन्ने बारेमा कुनै लिखित तथा मौखिक प्रमाण छैन । छैटौँ पुस्तादेखि यता देवता एउटा वंशबाट मात्र देवता आउने गरेको पाइएको छ । अर्थात धामीका छोरा, नाती धामी हुने गरेका छन् । आज धामीका छोराहरु मध्येबाट धामी हुने गरेको छैटौँ पुस्ता भएको छ । जब धामीको छोरा मात्र धामी हुने प्रचलन बस्यो त्यसको तेस्रो पुस्ताबाट मष्टो र महादेवको धामी फरक–फरक व्यक्ति हुने गरेको पाइएको छ । मष्टो र महादेवको धामी अलग–अलग व्यक्ति हुने गरेको तीन पुस्ता मात्र भएको कुरा बुढापाका बताउँछन् ।
मष्टो महादेवका धामी :
१. तिखे रोकाय
२. बले रोकाय
मष्टोका धामी : महादेवका धामी :
३. हर्कवीर रोकाय १. इदे रोकाय
४. अक्कल रोकाय २. सिंगे रोकाय
५. पृथी बहादुर रोकाय (२०३०–२०७८ बैसाख सम्म) ३. भक्त बहादुर रोकाय
६. नर बहादुर रोकाय (२०७९ साउन २० गतेदेखि)
मूल पुजारीहरुको नामावली लिखित रुपमा स–प्रमाण नभएता पनि मष्टो देवताको इतिहाससँग हिमाशंकर उपाध्यायको नाम आउने हुनाले उनी भन्दा अगाडी कजिजना पुजारी भए त्यसको मौखिक वा लिखित स–प्रमाण छैन । हिमाशंकर उपाध्याय पछि दयाराम उपाध्याय, ईन्द्रप्रसाद उपाध्याय, चुडामणी उपाध्याय, जगतु उपाध्याय, निलु उपाध्याय, नन्दलाल उपाध्याय, काशीराम उपाध्याय, भाउदत्त उपाध्याय, कृष्णप्रसाद शर्मा, लक्ष्मिप्रसाद शर्मा रहनु भएको छ । जात्रा लाग्ने ठुला जेठ, भदौ र मंसिर अष्टमी, पूर्णिमामा लक्ष्मिप्रसाद शर्माका भाइ कृतिप्रसाद शर्मा र उनका छोरा बालकृष्ण शर्माले सघाई रहनु भएको छ । हाल बालकृष्ण शर्माले संस्कृतमा शास्त्री गरिसकेपछि देवताको सम्पूर्ण पुजापाठ गरिरहनु भएको छ ।
४.२ जेठो छोरा धामी नहुने :
मष्टाका भाइ काँडाचौरबाट शिकार खेल्दै लामाडाँडा झरे हालको कफल्लाँको दुध ढाल्नेचौर भनेर चिनिन्छ । लामाडाँडाको दुध ढाल्नेचौरमा रहेका बाँज, ¥याँज र काफलको रुखमुनि रहेको चौख्या ढुङ्गामा उनीहरु आएर बसेछन् । जुन ढुङ्गा सुनको थियो भन्ने मान्यता छ र हाल पंचावली देवताहरु त्यही ढुङ्गामा राखिएको छ । मष्टोका बाह्र भाइहरुको सल्लाह अनुसार सिकार गर्ने र सिकार लिएर आ–आफ्नो स्थान तिर जाने निर्णय भएछ । उनीहरु विहानै सिकार गर्न जंगलतिर निस्केछन् । त्यहि विहान कफल्लाँ रोकायहरुका जेष्ठ जिजु घाँस काट्न त्यहि रुखमा गएका रहेछन् । केहि समयपछि मष्टोका भाईहरु सिकार गरेर फर्केछन् । सिकार १२ भाग गरेर बाँड्दा १३ भएछ । पटक पटक भाग गरेर बाँड्दा पनि १३ भाग नै भएछ । सबै भाइ अच्चमित हुँदै यहाँ वरिपरी कोही हुनुपर्छ भनेर खोजी गर्दा आफु बसेको रुखमा एकजना मान्छे डरले कुप्रुक्क परेर बसेको देखेछन् । तल आउनुहोस् यो एक भाग सिकार लिएर घर जानुहास् तर घरमा कसैलाई सिकार कहाँबाट कसरी ल्याएको हो भनेर नभन्नुहोला भनि दैवि शक्ति (दुध्या मष्टोमा हुने) दिई वाचा गराई घर पठाएछन् । घर परिवारको केरकार पछि जिजुले सबै कुरा बताएछन् । यो कुरा १२ भाइ मष्टोलाई थाहा भएपछि जेठो छोराबाट देउता नआउन अरु जो कोही छोराबाट देउता आउन भन्ने श्राप दिएछन् । यसरी उत्पत्तिदेखि हालस कफल्लाँमा रहेको दुध्या मष्टोको जेठो छोरा धामी भएको इतिहास छैन् ।
४.३. धामी मष्टो आएको बेला कुजो हुने :
बाह्र भाइ मष्टो मध्ये दुध्या मष्टो (पठाइलो–आठौँ) खो¥या (देवता आएको बेला हिडडुल गर्न नसक्ने) देवता हुन् । त्यस कारण आफनो वाहनको रुपमा भुङ्काल देवता सँगै ल्याएर आएका हुन् । हरेक तिर्थ पर्वमा भुङ्काल मष्टोको वाहनको रुपमा रहन्छ । सबभन्दा पहिले भुङ्कालले काँधमा बाकेपछि मात्र अरु देवताहरुले बोकेर बहाली
गर्दछन् । मष्टो आफ्नो बारा, थान, पुजारीको घर र दरवारमा गादी बसाले पछि मात्र देवता आउँदछ ।
४.४. सवै घरमा देउता सवैजना धामी :
कफल्लाँका सबै घरमा देवता रहेका छन् । मष्टो महादेव लगाएत राताभूँयार, सुवाकोटी, पिनलेख सातसल्ले भूँयार, महंकाल, नारायण, मुडिल्लो भँयार, बराह, लौकी माला, कालिका माई, कालिका देवी आदि देवी देवता रहेका छन् । देवता नभएको कुनै घर छैन् । प्रत्येक घरमा दियो धुपौँरो छ । प्रत्येक अष्टमी पूर्णिमामा कुल देवताको मुख्य बारा र थानमा पुजाआजा गरिन्छ नै प्रत्येक घरमा घर मुलीले आफ्नो कुलको रुपमा घरको देवतालाई दियो धुपौरो जुटाई सामान्य सामान्य पुजाआजा गर्ने चलन छ । प्रत्येकका घरमा देवी देवताका पुराना मूर्ति छन् ।
४.५. दुध ढाल्नेचौर पंचावली देवताको न्यायपरिषद् ः
मष्टो, महादेव, सुवाकोटी, नारायण र भुँयार यहाँका पंचावली देवता हुन् । भुङ्काल मष्टोको वाहन हो । सुवाकोटी देवता वाहेक अन्यको उत्पत्ति मष्टो भन्दा पछि सहयोगीको रुपमा भएको पाईन्छ । मष्टो आगमन भइसकेपछि आफ्नो सौर्य क्षमता, मिलनसार, सबै मिलि एक भएर जाऔँ भन्ने मष्टोको आग्रहलाई स्वीकारेर काँडाचौरमा रहेको सुवाकाटी समेत कफल्लाँ आइसकेपछि दुधढाल्नेचौरमा पाँच भाइ बसी बाहुली जोडेर जहाँसम्म मष्टोको धित चल्छ त्यहि सम्म पंचालवी देवताको धित र नाम चल्ने, सम्पूर्ण पुजाआजा सँगै गर्ने, यहि लामाडाँडा कफललाँमा तलदेखि माथिसम्म मिलेर बस्ने, कहिँ कतै कसैको कमिकमजोरी भएमा यहि बसेर मिलापत्र गर्ने, कसैले धर्म नहार्ने वाचा सहित मिलेर तल माथि बसेछन् ।
४.६. पाली÷थानी, थपाला र करिया :
यो कफल्लाँ मष्टा महादेवको सेवा क्षेत्र भित्र तीन वटा वंशहरु रहेका छन् । कफल्लाँवासी धामी वंशका रोकाय क्षेत्रीहरुलाई पाली÷थानी भनिन्छ । घरंगा निवासी तुलिभम्व सिहं ठकुरीका सन्तान देवताका थपाला हुन् । लाँता निवासी कनिक्या बस्नेतका सन्ततीहरु यस देवताका करिया हुन भने डाँडाभौता निवासी हिमाशंकर उपाध्यायका सन्ततीहरु मुल पुजारी हुन् ।
अनुमानित सत्रौँ शताद्धीको अघिल्लो प्रहरतिर कफल्लाँबाट मष्टो भागेर डाँडापारी पैँक गएको किम्बदन्ती छ । देवतालाई वली चढाएका पाठाका टाउका बारामा धेरै भएपछि धमेनिले “सार्की, यो टाउकाको घर भइगो, यि टाउका ल्हेउर मालुभिर (कफल्लाँगाउँ मुनिको ठुलो भिर) लोटाउ” भनिछन् । त्यो अपशब्दले देउता भागेर मुग्राहँकी खोली बाटो माथिको ठुलो ढुङ्गामा गएर जोगीको भेषमा बसेछन । बिजुलीडाँडाका भैँसी गोठाला कुलबाँध भैँसी गोठबाट भाँङ्ग्रीमा गोरस लिएर साँझ पख घर खर्च लिन आउँदै गरेको समयमा जोगीको भेष गरेको देवताले “अलग माई भिक्षा ल्याउ” भनेर खप्पर थापेछन ।
गोठालाले जोगीलाई महि दिने इच्छा गरी महिको भाँडो खप्परमा खन्यायो तर खप्पर आधा नै देखियो । उसले अचम्म मान्दै दहि खप्परमा खन्यायो फेरी पनि खप्परा भरिएन । आफुसित भएको दुध, घिउ जति छ सबै खप्परमा खन्याउँदा पनि नभरिँदा अचम्म मान्दै भाँडाहरु त्यहि राखेर घर गई खर्च ल्याउने विचार गरी हिड्न लाग्दा छदमरुपी जोगीले तिम्रो ठेकीको बुझो जहाँ थियो त्यसैमा लगाउ, जसरी तिमिले बोकेका थियौँ त्यसरी बोकेर घर जाउ भन्यो । गोठालाले भने अनुसार गरे र भाँङ्ग्री बोकेर
हिडे । अलिपर घुँसकी ठाँटीनिर पुग्दा भाँङ्ग्री झटक्क भयो । भारी विसाएर हेर्दा जस्ताको त्यस्तै ठेकीभरी महि, दहि, दुध, घिउ भएको रहेछ । यहाँबाट गोठाला आफ्नो बाटो देउता आफ्नो लागेछन ।
देउता भागेर गएपछि गाउँमा अशुभ भएछ । सबै नराम्रो हुँदै जान थालेपछि गाउँका जान्ने मान्नले कसरी देउता फर्काउने भनेर धामी पुजारीलाई हेराउँदा वनारस गएर १२ वर्ष तपस्या गरेपछिमात्र फर्कने वाणी दिएछन । सोहि बमोजिम धामी र पुजारी वनारस जाने तयारी गरीसकेपछि त्यतिबेलाका जान्ने मान्ने मष्टोको अनुयायी घरंगा निवासी तुलिभम्व सिंह ठकुरी र लाँता निवासी कनिक्या बस्नेत देउताको सेवक, साथि, सहयागी भएर वनारस गएछन । १२ वर्ष तपस्या गरिसकेपछि मष्टो खुशी भएर एक दिन सपनामा म कफल्लाँमा नै छु जाउ र पहिले जस्तै गरी मान भनेछन । सोहि बमोजिम फर्किएपछि मष्टोले कठिन अवस्थामा साथ दिएकोले कहिल्यै पनि धर्म नहार्ने, बालिको मानो पालिको पाठो, हरेक तिर्थ व्रत पूणि अष्टमीमा सहभागी हुने र मष्टोको कुल वंशभित्र रहने वाचा गरी तुलिभम्व सिंह ठकुरीलाई थपाला र कनिक्या बस्नेतलाई करियाको मान्यता दिए । यी लगाएत सरु दरो, चैँया दरो, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका आम मान्छेको आस्थाको केन्द्र हो ।
४.७. मष्टोका धामी मलामी जान नहुने :
जनश्रुती अनुसार कुनै एक पूर्णिमाको समयमा मष्टोका मुल धामीको निधन
भएछ । मृत्यु दाहसंस्कारका लागि सागर तर्फ ल्याइरहँदा धेरै टाढाबाट आएका भक्तजनले बाटोमा भेटेछन् । भक्तजनले को हुनुहुन्छ भनि सोध्दा मलामीहरुबाट मष्टोका धामी भएको जानकारी पाएपछि आफु धेरै टाढाबाट यहि देउताको दर्शन गर्न भनि आएको पाइन भनेर विलौना गरेछन् । अकस्मात मलामीहरु जहाको त्यहि उभिएको उभिएइ भई मृत्यु शैयाका बन्धनहरु फरर फुकेछन र धामी जुरुक्क उठेर भक्तजनलाई आशिर्वाद दिएर एक छिनमै अलाप भएछन । पुनर्जिवित धामीलाई जिवित बनाउन कुनै विधि शास्त्र कसैलाई थाहा नभएको र धामी स्वयम्ले केहि नभनेकोले परिस्थिति अगाडीको जस्ताको त्यस्तै भएछ । विधि पूर्वक सागर लिएर दाहसंस्कार गरिएछ । यो घटना पछि मष्टोका धामी मलामी गएमा अशुभ हुन्छ भन्ने मान्यताले घर परिवार आफन्त लगाएत कोहि कसैको मलामी जाँदैनन् ।
४.८. पुजा परम्परा तथा जात्रा मेला :
सामान्यतया मष्टो देवताको÷थानको कार्यव्यवस्था र पुजाआजा चलाउने जिम्मा धामी, पुजारी र डाँग्रीको हुन्छ । प्रायजसो पुजारी वा डाँग्रीको जिम्मेवारी जेष्ठ सदस्यमा पुस्तान्तरन हुन्छ भने मूल धामी धामीको जेठो छोरा वाहेक जसको आङमा देउता आउँछ उहि छोरा धामी हुन्छ ।
पुजारी विना देवताको पुजाआजा चल्दैन । कुनै पनि पुजाआजामा पुजारी हुनै पर्दछ । पुजारी, धामी, थपाला र करियाको संयोजनबाट पुजाआजा गर्ने चलन रहेको छ । मुख्य पुजारीको हातबाट पुजा चल्ने भएको हुदाँ हरेक अष्टमी, पूर्णिमामा पुजारी नभैनहुने हुन्छ । यी चारै वंशमा जुठो (अशुद्धि) परेमा देवताको पुजा चल्दैन । पुजारी, थपाला, करिया र पाली वा थानी नै मष्टोका सेवक हुन । मष्टो र महादेव यहाँका कुल तथा मुल देवता हुन् । यी लगाएत यहाँ दर्जनौँ देवी देवताको नाममा पुजाआजा हुन्छ । मष्टो र महादेवको पुजा बाह्रै पूर्णिमा र बाह्रै अष्टमीमा हुन्छ । अन्य देवी देवताको पुजा वर्षमा तीन पटक जेठ पूर्णिमा, भदौँ÷पाँच पूर्णिमा र मंसिर पूर्णिमामा हुन्छ ।
११ जेठमा पूर्णिमामा हिउँदेयाममा खेती किसानीबाट उब्जाएका गहु, जौँ, अन्य बाली भित्राइ नयाँ अन्नको न्यागी गरेर पिठो, दुध, नौनी, फुलपाती, धजा मष्टोलाई चढाउने, थानी वा भक्तजनहरुले भाकल गरेका, सजाय वा जस मष्टोको भाकल गर्दा वा वर माग्दा मनोकाङ्क्षा पुरा हुँदा ल्याइएका पाठाहरुको वलि चढाइन्छ भने नयाँ अन्न, फलफुल, दुबोपाती, दान दक्षिणा, धजा, घण्टाहरु चढाइन्छ । भदौ वा असोज पाँचपुणिमा भव्य मेला लाग्दछ । पुजापाठका साथै देवता बौलिने गर्दछन । पूर्णिमाको त्रयोदशी, चतुर्दशी, पूर्णिमाको दिन धामी बौलिने दिन हुन । पूर्णिमाको दिन मष्टो विशेष देवताको ठुलो मेला लाग्दछ । गाउँको बिचमा रहेको मुल धामीको घरबाट धामी, पुजारी, डाँग्री, थानी, थपाला, करिया, मुग्ल्यानी, दमाह बाजाटोली र सबै मेलारुहरु देवताको डोली, निसान, गादी, घण्टा, पुजा सामाग्री लिएर सबभन्दा पहिले नौमती बाजाको तालमा दमाहा बाजाटोली त्यसपछि मग्ल्यानी, डोली, निसान, देवता सामाग्री लिएर पुजारी धामी लगाएत उपस्थित सबै घरदेखि ५०० मिटर माथि रहेको मुल थानसम्म नौमती बाजा र मागलको शुरमा पुग्दछन् ।
मुख्य थानमा पुगिसकेपछि बिचमा रहेको धामी बस्ने चौख्या गादीमा पुजारीले पुजापाठ गरी गादी तयार गर्दछन । जसमा थानी, थपाला, करिया, सरुदरा र चैयाँदराका मष्टो मान्नेजनहरु पोखल, आगत, होम, मकै, काँक्रा अन्य फलफुल र धजा चढाउँछन् भने अन्य मेला भर्न आउने सबै मेलारुहरु धजा, फुलपाती चढाउँदछन् । धामी जति अघिल्लो दिनदेखि व्रत बस्दछन । चौख्या गादीमा मष्टोका मुल धामी गादी बस्दछन । महादेव, पंचावली देवताका धामीहरु लगाएत त्यहाँ उपस्थित धामीहरु गादीको वरिपरी लाइन मिलाएर बस्दछन । पुजारी पुजापाठ गर्दछन भने मुग्ल्यानी देवताको आरधनामा मागल गाउँछिन । दमाहाटोली नौमती बाजा बजाइरहन्छन । जव मष्टो देवता आउँछ त्यसपछि महादेव देवता आउँछ ।
महादेव देवताले त्यहाँ बसेका सबै धामीहरुलाई आगत छरेर आउन अनुमती दिदाँसाथ सबै धामीहरु एकैसाथ बौलिएर गादीको वरिपरी काँध्याबाहुली गरेर एकअर्कामा बहाली गर्दछन । यो क्षण नै सबैभन्दा रमाइलो बन्दछ । त्यसपछि मष्टोका धामीले अक्षता छर्केर धामीहरुलाई अक्षता, मकै, काँक्रा, घण्टाहरु दिँदै सेरोमा नाच्न अनुमती दिन्छन । मष्टोको वाहन भुङ्कालले मुल धामीलाई गादीबाट काँधमा बोकेर सेरोतर्फ नचाउन लैजादै गर्दा सबै धामीहरु मिलेर काँधमा काँध गरेर मष्टोलाई सेरो वरिपरी नचाउँदछन् र आ–आफ्नो शुरमा नाच्दछन ।
धामीहरु एक अर्कामा खाम भाषा बोलेर सुख दुःख, सहानुभूती, एक आपसमा परिचय आदान प्रदान गर्दछन् । ३÷४ घण्टा जति देवता बौलिसकेपछि पुजारीको हातबाट दुधको धार शिरमा राखेर देवता राख्दछन जसलाई धारखाने भनिन्छ । उपस्थित मेलारुहरु चुटकिला, धाँचा, देउडा, खाँडो नाचेर मनोरन्जन गर्दछन् । त्यसपछि थानमा तयार भएको खिर, टाटेरोटी, फलफुल पुजारी, डाँग्रीले सबैलाई बाँड्छन् । टाढा टाढाबाट आएका पाहुनाहरुलाई नछुटाई देवताको प्रसाद खुवाईन्छ । अन्त्यमा विहान जसरी देवताका सामाग्रीहरु बारामा भित्राई राखिन्छ । मंसिर पूर्णिमा कार्तिकमा भित्राएको नयाँ धानको चामल, फलफुल चढाइन्छ भने भक्तजनहरुबाट आएका पाठाहरु काटिन्छ ।
४.९ बारा र थानहरुमा संग्रहित वस्तु तथा मूर्तिहरु :
पंचावली देवता रहेका दुधढाल्नेचौरको चौख्या ढुङ्गा लै मष्टो उद्गमको ऐतिहासिक प्रमाण हो । शुरुमा मष्टो आएर बसेको ठाउँ जहाँ पंचावली देवता रहेका
छन् । चन्याटो (काठको ठेकी) अर्को देवता उत्पत्तिदेखिको मानिने झण्डै पाँच÷सात माना दुध अटाउने वस्तु हो । यी लगाएत शुरुदेखिका घण्टा, त्रिशुल, डोला, निसान, धातु, ढङ्गा तथा काठका विभिन्न देवीदेवताका मूर्तिहरु रहेका छन् । बाराको मुल ढोका अगाडी रहेको बार्दलीदेखि भित्रपट्टीको गादी र माथिललो तलामा रहेको गबौरा (मुख्य देवता राखिएको ठाउँ) सम्म असंङ्ख्य घण्टा, धजा तथा मुूर्तिहरु रहेका छन् । यसरी नै बाराभन्दा माथि जंगलको बिचमा रहेका पंचावली देवताको थानहरुमा घण्टा, धजा र मूर्तिहरु रहेका छन् । मुख्य मष्टोको थानमा उत्पत्तिदेखिका मानिने देवदार र झुलाका रुखहरु रहेका
छन् ।
४.१० नयाँ धामी बन्दा गरिने विधिहरु :
बहालवाला धामीको मृत्यु भएमा चिहानमा दाहसंस्कार गरिसकेपछि सोहि ठाउँबाट पुजारी, धामीका छोरा मध्ये एकजना, थानी, थपाला, करिया जो कोहि साथि सहयोगी दैलेख शितथानमा बादा सेलाउन जाने गरिन्छ । फर्किएर १० दिनको शुद्धीकार्य पछि ४५ दिन, ६ महिना र वर्षदिनको पुन्य तिथिमा बरकी गरिन्छ । वर्षदिन पछि उपयुक्त तिथि, बार हेराएर मुख्य पुजारी, धामीका छोराहरु, थानी, थपाला, करिया मुगुको छायानाथ देवताको लटा सेलाउन जान्छन । यता बारामा थानी, थपाला र करियाका कन्याहरु लगाएत गाउँका सबैजनाले खरराती गरी देवता शुद्धताका लागी आरधना गरिन्छ ।
मुगु कर्णाली र हुम्ला कर्णालीको दोभान त्रिवेणीघाटमा देवताकने लटा सेलाई हिन्दू र बौद्ध धर्मावलम्विहरुको पवित्र धार्मीक स्थल छायानाथमा गएर नुहाएर पवित्र भएर फर्कन्छन् । फर्किएको दिन उपयुक्त साइतमा बाराबाट नौमती बाजा, कलश सहित मुग्ल्यानी मागल गाउँदै बिचबाटो बाट देवताको पर्छो÷स्वागत गरी बारा भित्राइन्छ । छायानाथबाट देउताको लटा सेलाएर नुहाइ आइसकेपछि सम्पूर्ण शूद्धाई कार्य सम्पन्न हुन्छ र नयाँ धामी बनाउने प्रक्रिया शुरु हुन्छ ।
मूल धामीको मृत्यु पश्चात को धामी हुने भन्ने बारेमा समस्त मष्टो अनुयायीहरु बिच चर्चा परिचर्चा हुने गरेपनि साइकुवारा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न.ं४, को पाटनमा रहेको प्रशिद्ध धार्मीक स्थल) मा देउता नुहाउन जाने र आउने दिन नै महत्वपूर्ण हुन्छन् । उपयुक्त तिथि, बार, समय, शुद्धता र एकाग्रता भएपछिमात्र साइकुवारा देउता नुहाउन जाने दिन र साइत जुराइन्छ । सम्पूर्ण तयारी गरिसकेपछि सोहि दिनको अघिल्लो राती थानी, थपाला, करिया लगाएत सम्पूर्ण अनुयायीहरु बारामा जम्मा भई रातभर पुजाआजा, मागल, चुट्कीला, भजन कृतन गरेर देवताको आरधना गरिन्छ । विहान उपयुक्त साइतमा बाराको मुख्य देवता राखिएको गबौरामा पुजापाठ गरेर पंचावली देवता सहित आमन्त्रित धामी, थानी, थपाला, करिया र स्थानीयहरु बसेर देउता बसाली मुग्ल्यानीले मागल गाउँछिन् । हिड्ने शुभ साइतमा धामीका छोराहरु लगाएत धामी वशंका जो कोहिबाट देउता देखा पर्न सक्छ र बौलिन सक्छन् । गबौरामा बौलिएका मध्ये जो पुजारीको काँधमा चढ्छ र मष्टोको वाहन भुङ्कालले काँधमाबोक्छ । जसलाई पंचावली देवता लगाएत उपस्थित बौलिएका अन्य धामीहरुले साथ दिन्छन ।
नयाँ देउता देखा परेका व्यक्तिलाई भुङ्कालले काँधमा बोकेर हिड्न आदेश गरिसकेपछि पुजारीले देउता नुहाउन लिने सामाग्रीहरु बोक्छन् र सबै धामीहरु गबौराबाट काँध्याबाहुली गर्दै मष्टो लाई काँधमा बोकेर बाहिर निस्कन्छन । कलश बोकेर मुग्ल्यानीहरु मागल गाउँदै नौमती बाजा सहित देउता बौलिदै मुङ्राडाँडा सम्म गएर पर्छो गरिन्छ । बौलिएका सबै धामीले नयाँ देउता देखा परेको धामीलाई काँध्या बाहुली गर्दै खाम भाषामै यात्रा शुभ रहोस् भनि तिर्थालुलाई आशिर्वाद दिई विदाई गरिन्छ । उपस्थित सबैजनालाई देउताको टिका लगाई सगुन बाँडिन्छ र सोहि बमोजिम कलश मागल गाउँदै बारा ल्याइन्छ । साइकुवारा गएको दिनदेखि घर पुग्दाका दिनसम्म बारामा थानी, थपाला, करिया र उनीहरुका कन्याहरु सहित सबैले खरराती, आरधना गरिन्छ । साइकुवारा पुगेपछि तिर्थको नाममा लिइएका फुलमाला, फलफुल चढाइ देउता नुहाउँदा मष्टो प्रकट भएमा धामी पुजारी बहाली गरी देउता नुहाउर कुण्डको जल, पाटनको बुकी र बिजौरी फुल ल्याएर फर्कन्छन् ।
साइकुवाराबाट देउता नुहाएर घर पुगेको दिन नै मष्टोको धामी को हुने भन्ने कुराको फैसला हुने दिन हो । शुभ साइतमा बाराबाट मुग्ल्यानी कलश बोकेर मागल गाउँदै नौमती बाजा लिएर ठुलो जात्रा सहित देउतालाई स्वागत गर्न मुङ्राडाँडा सम्म जान्छन जसलाई देउताको पर्छो गर्ने भनिन्छ । जब देवता नुहाएर आएको टोली पर्छो स्थलमा पुग्छ पुजारीले साइकुवाराबाट ल्याएको जल, बुकी बिजौरी पूmल जात्तोभरी छर्कनासाथ घरबाट स्वागत गर्न गएका धामीहरु लगायत थामी वंशका प्राय सबैजना बौलिन्छन् । तिर्थस्थलबाट आएका मध्ये जसको आङमा देवता आउँछ । उसलाई पञ्चावली देवता लगायत बौलिएका सबै धामी उपस्थित सबै अनुयायित भक्तजनहरुले नयाँ धामीको स्वागत र खुशीयालीमा पूmलमाया लगाइदिन्छन् र धामीहरुले काँढमा बोकेर बहाली गर्छन् । जब भुङकालले काँधमा बोकेर बहाली गर्छ त्यही व्यक्ति नै मष्टोको आधिकारीक धामी बन्दछ । भव्य स्वागत सहित धामीहरुले नयाँ मष्टोका धामीलाई काँधमा बोकिएर मागल नौमती बाजा सहित बारा भित्राउँछन् ।
बारा पुगिसकेपछि पुजारीले पुजापाठ गरेर थानी थपाला र करियाहरुको तर्पmबाट ल्याएको गाइको बाछीले देवताको गादी कुन्चाइन्छ । बाछीले गादी कुन्चाइसकेपछि नयाँ मष्ष्टोका धामी गादी बस्छन् । नयाँ धामीको स्वागत स्वरुप थानी थपाला करिया लगायत उपस्थित अनुयायी भक्तजनहरुले गादीमा बक्सौनी चढाउँछन् र पाठाको बलीचढाइन्छ । देवताको सम्पूर्ण काम सकिएपछि उपस्थित सबै जनालाई टिका सगुन र प्रसाद खुवाई सम्पन्न गरिन्छ ।
आप्mनो शरीरमा देवता आइसकेपछि नयाँ धामीले त्यसको आधिकारिक मान्यता लिन उपयुक्त तिथिमा सो मष्टोको गुरुघर मुगुको कवा मष्टोकहाँ जानु पर्दछ । यसरी आधिकारिक मान्यता लिन गएका नयाँ धामीले गुरु थानमा देवता काडी परेली (आप्mनो इतिहास) भन्दछन् । गुरु घरका मूल धामीले साँच्चै आप्mनो सहि मष्टा देवता आएको छ कि छैन भनी जाँच गर्दछन् । दुई धामीबीच सवालजवाफ देखी क्षमता प्रदर्शन सम्म हुन सक्छ । आप्mनो इतिहास र शक्ति देखाइसकेपछि मूल थानका धामीले उचित ठानी मष्टोको धामी कहलाउने ‘छापबिदो’ दिन्छन् । मूल थानका मूल धामी भने अर्कै मूल थानका मूल धामी वा तिर्थ स्थलबाट ‘छापबिदो’ लिन जान्छन् जस्तै ः कवा मष्टोको मूल धामी बाजुरा जिल्लामा रहेको बढीमालिका जान्छन् ।
कवाबाट ‘छापबिदो’ ल्याइसकेपछि नौमती बाजा मागल सहित बाराबाट खरिलासम्म गएर शुभसाइतमा भव्य स्वागत सहित देवताको पर्छो गरी देउता बारा भित्राउँछन् ।
त्यसपछि उपयुक्त समय हेरी पहिलेको बाचा र सहयोगका लागि घरंगा थपालाहरुको घरमा रहेको मष्टो देवताकहाँ छाप र थापालाहरुबाट शुभाआशिर्वाद लिन जाने चलन रहेको छ । छाप र शुभआशिर्वाद पाइसकेपछि जीवन पर्यन्त मष्टोको मूल धामी बन्दछन् । यो वर्ष मष्टोको नयाँ धामी पृथ्वी बहादुर रोकायका कान्छा छोरा नर बहादुर रोकाय २०६९ श्रावण २० गतेदेखि बन्नु भएको छ ।
५. निष्कर्ष :
जाजरकोट जिल्ला कुशे गाउँपालिका वडा नं. ८ कफल्लाँमा रहेको दुध्या मष्टो देवता एक प्राचीन, ऐतिहासिक प्रसिद्ध धार्मिक तिर्थस्थल हो । पुरातात्विक महत्वका ढुंगा, धातु र काठका कलात्मक थान वस्तु तथा मूर्तिहरु रहेका छन् । उत्पत्तिदेखिको किंवदन्ती अनुसार यो मौलिक, सांस्कृतिक परम्परा हो । लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका आम नागरिकहरुको धार्मिक आस्थाको केन्द्र हो ।
अध्ययनमा यसको ऐतिहासिक उत्पत्तिदेखि ऐतिहासिक तथ्यहरु भौगोलिक तथा सास्कृतिक तथ्यहरु, पुजाआजा तथा परम्परा, पुरातात्विक संग्रहित वस्तु तथा मूर्तिहरु र यसको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा संक्षेपमा प्रस्तुत गरिएको
छ ।
६ सुझाव :
यस अध्ययनको मुख्य उद्देश्य बाह्र भाइ मष्टो मध्येको एक कफल्लाँमा रहेको दुध्या मष्टोको ऐतिहासिक पुरातात्विक तथा मौलिक, सांस्कृतिक इतिहास उजागर गर्नु र सरोकारवाला निकायहरुलाई यसको संरक्षण र सम्बद्र्धनमा ध्यानाकर्षण गर्नु रहेको
छ । कफल्लाँ दुध्या मष्टोको उत्पत्ति वा उद्गम स्थल भए तापनि यसलाई राष्ट्रिय सास्कृतिक सम्पदाको रुपमा विकास र संरक्षण गर्न राज्यको ध्यान नपुगेको देखिन्छ । पुराना थानहरुको मर्मत सम्भार संग्रहित वस्तु तथा कलात्मक मूर्तिहरुको संरक्षण, मोटरबाटो, मालुतरादेखि महादेवथानसम्म पद मार्ग, खानेपानी, शौचालय, भक्तजनहरुका लागि आवास गृह निर्माणमा राज्यका सरोकारवाला निकायको ध्यान जान जरुरी छ । ऐतिहासिक पुरातात्विक, मौलिक सांस्कृतिक धार्मिक सम्पदा भएकाले दिर्घकालीन रणनीति योजनाका आधारमा राज्य पक्षबाट पहल हुनु वाञ्छनीय देखिन्छ ।
तस्वीरहरु
मष्टोको बारादेखि पञ्चावली देवताहरुका थान सहित विभिन्न तिथि पर्वमा लिएका तस्वीरहरुलाई संग्रहित गरिएको छ ।
पुरानो धामी पृथी बहादुर रोकाय
मुगुको छायानाथ देवताको लटा सेलाइसकेपछि मुख्य पुजारी र धामीका छोराहरु
साइकुवारा देवता नुहाउन जाँदा¬ नयाँ धामी नर बहादुर रोकाय
साइकुवारा देवता नुहाउन जाँदा¬ टिका र सगुन वितरण गर्दै
साइकुवारा देवता नुहाएर आइसकेपछि धामी नर बहादुर रोकायलाई बारा भित्र्याइँदै
साइकुवाराबाट देवता नुहाएर फर्किएपछि
साइकुवाराबाट देवता नुहाएर फर्किएपछि
कवाबाट देवताको छापबिदो ल्याएर फर्कँदै नयाँ धामी, पुजारी, थानी, थपाला र करिया
पञ्चावली देवता रहेको दुधढाल्नेचौर
मष्टो देवताको मुख्य थान भुङ्कालको थान
सन्दर्भ सामाग्रीहरु :
१. सेवा भट्टराई, हिमाल खवर, २४ पुस, २०७८ ।
२. पोखरेल, डा. माधवप्रसाद. अन्नपूर्ण फुर्सद ११ फागुन २०७५ ।
३. शाही, धनबहादुर.अयचभउबतष्।अयm पौष १५, २०७७ ।
४. मययचकलभधक।धयचमउचभकक।अयm। mबथ छ, द्दण्ज्ञड।
५. सिहं, ललितबहादुर्र मष्टा देवताको ऐतिहासिकता र बझाङ् जिल्ला’ सेतोपाटी, चैत १२, २०७५ ।
६. रोकाय, अमरबहादुर. धामी नाचगीतको सङ्कलन र विश्लेषण २०७२ ।