नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार उम्मेदवारी दर्ताका लागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँगै गोरखा जाने भएका छन्।
जनयुद्धकालीन सहयोद्धासमेत रहेका डा. भट्टराईकै प्रस्तावमा प्रचण्डले अन्तिम समयमा गृहजिल्ला चितवन–३ छाडेर गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने निर्णयमा पुगेका हुन्। माओवादी केन्द्रले आफ्ना अध्यक्ष यसपटक गोरखा–२ बाट लड्ने निर्णय गरिसकेको छ। उक्त निर्णयको स्वागत गर्दै डा. भट्टराईले प्रचण्डलेका जितको शुभकामनासमेत दिइसकेका छन्।
यसैबीच नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभागका प्रमुख विश्वदीप पाण्डेले माओवादी अध्यक्ष प्रचण्ड मनोनयनपत्र दर्ताका लागि भोलि असोज २३ गते आफ्ना अध्यक्ष भट्टराईसँगै गोरखाका जानको कार्यक्रम रहेको जानकारी दिएका हुन्।
मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूका लागि असोज २३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरेको छ।
असोज २३ गते नै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।
यस्तै असोज २४ र २५ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि समय तोकिएको छ। आयोगका अनुसार असोज २५ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशनका लागि समय तोकिएको छ।
असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय उम्मेदवारी फिर्ता लिने चाहनेका लागि छुट्याइएको छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय उम्मेदवारको अन्तिम नामावली प्रकाशनका लागि तोकिएको आयोगले जनाएको छ।