विराटनगर : मिथिला क्षेत्रको लोक आस्थाको पर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिएको छ ।
पञ्चमी तिथिका दिन मंगलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरेका हुन्।
सोमबार बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेट जाँदाको समयको हाराहारीमा सूर्योदय भएको छ। मिथिलामा सूर्योदयको टुंगो मिथिला पञ्चांग र विद्यापति पञ्चांगका आधारमा गरिन्छ।
यद्यपि मिथिला क्षेत्रमा मौसम सफा भएकाले व्रतालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन्। यसअघि व्रतालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरेका थिए।
काठमाडौंका नदीकिनारमा व्रत गरेका श्रद्धालुले पनि उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न गरेका छन्।