होलीको रङले स्वास्थ्यमा पार्ने असर र जोगिने उपाय

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  प्रा.डा. भास्कर मोहन कायस्थ   85 पटक हेरिएको

होली अर्थात् रङको पर्व। पहिले फागु पूर्णिमा भनेर मानिन्थ्यो। होलीलाई नेपालीको मौलिक पर्वको रुपमा पनि लिइन्छ।पहिले अबिरको रङ खेल्ने चलन थियो भने अहिले आएर छिमेकी संस्कृतिसँग जोडिएर विभिन्न केमिकल र रसायन मिसिएका रङहरूको बढी प्रयोग हुन थालेको छ। जसको प्रयोगले स्वास्थ्यमा तत्काल र दीर्घकालिन गम्भीर असर पार्न सक्छ।

तत्कालै पार्ने असर भनेको रङ आँखा, मुख र नाखमा पस्यो भने एलर्जी हुने, खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने हो।

होलीमा लगाइने प्राकृतिक रङ बाहेक अन्य रङमा विभिन्न थरीका केमिकलहरु मिसिएको हुन्छ। जुन छालामा पर्यो भने आगो र तेजाबले पोलेको जस्तो पोल्ने पनि हुन सक्छ।

त्यस्तै अहिले होलीमा इनामेल पनि प्रयोग गर्ने चलन छ। जुन रङ छालाबाट छिटो निकालेन भने छाला नै निक्लिने र फोका आउने हुन्छ।

कुन रङमा के मिसिएको हुन्छ ?
रातोमा मर्करी सल्फेट, हरियो रङ्गमा कपर सल्फेट, कालोमा लिड अक्साइड, निलोमा प्रसियन ब्लु, सिल्भरमा आल्मुनियम ब्रोमाइड जस्ता रासायनिक तत्वहरु पाइन्छन् जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्।

आँखामा एलर्जी हुने, आँखा सुन्निने, पोल्ने, छालामा फोका तथा सानो बिबिरा आउने, छालामा कडापन वा सुख्खा हुन सक्छ।

त्यस्तै मर्करी, पारो र सिसा मिसिएको रङ धेरै प्रयोग गर्दा पछि गएर मिर्गौला र क्यान्सर बनाउन सक्ने सम्भावना हुन्छ। कपालमा रङ परेको छ भने कपाल झर्ने समस्या पनि हुन्छ।

मर्करी
रातो रङमा बढी पाइने मर्करीमा शरीर काम्ने, मिर्गौलामा समस्या र मानसिक स्वास्थ्यमा पनि समस्या देखिन सक्छ। मर्करीको बढी प्रयोग भएको छ भने निन्द्रा नलाग्ने र श्वासप्रश्वासमा पनि समस्या उत्पन्न गराउन सक्छ।

कपर
होलिमा खेलिने रङमा रसायन कपर पनि पाइन्छ। यसले पेट दुख्ने, वान्ता तथा मुटु, कलेजो र मिर्गौलामा समेत असर पुरयाउन सक्छ।

लिड
लिडले स्नायुमा असर पार्न सक्छ। श्रवणशक्ति कमजोर बनाउँछ साथै नयाँ कुरा सिक्ने क्षमतामा अबरोध पुर्याउँछ।

आलुमिनियम
आल्मुनियमले हड्डी खिइनु, रगत बन्ने प्रक्रियामा बाधा पुर्याउने मस्तिष्कमा असर गर्न सक्छ।

रङलाई शरीरबाट कसरी उतार्नेरु
छालामा रङ लागेको छ भने त्यसलाई सिधै बेसरी मिचेर निकाल्नु हुँदैन। मनतातो र साधारण साबुन लगाएर पानीले बिस्तारै रङलाई भिजाएर पखाल्नु पर्छ।

कपडाले जोड जोडले घोटेर पखाल्यो भने रङ छाला भित्र पसेर छाला कडा हुने र फोका आउने हुन्छ।

होली खेल्दा ध्यान दिनुपर्ने कुराहरु
विशेष गरेर होली खेल्नु भन्दा पहिला छालामा मोस्चराइजर, लोसन वा तेलहरु लगाउनु पर्छ। त्यसले छालामा प्रत्यक्ष असर गर्दैन।

कपालमा रङ पर्ने भएकाले टोपी लगाउने र आँखालाई रङको असरबाट बचाउनका लागि चस्मा लगाउने। सकभर शरीर पुरै ढाक्ने खालको लुगा लगाउनु पर्छ।

होली खेलिसकेपछि रङलाई शरीरमा लामो समयसम्म सुक्न दिनु हुँदैन। रङ खेलिसकेपछि कोही कोही मद्यपान गरेर दुई, तीन घण्टासम्म रङ शरीरमै छोड्ने गर्छन्। त्यसो गर्नु धेरै खतरनाक हुन्छ। रङको असरबाट बच्नका लागि छिटो पखाल्नु पर्छ।

त्यस्तै होली चर्को घाममा खेल्दा अझ बढी असर गर्न सक्छ। त्योबाट बच्नका लागि सनस्क्रिम लगाउन सकिन्छ।

रङको छनोट कसरी गर्ने ?
बाटो बाटोमा बेचिरहेका रङहरु भन्दा पनि रङलाई हातमा लिने बित्तिकै हातमै नटाँसिएर सर्लक जाने खालको रङ्ग हुन्छ। केमिकल मिश्रित रङ हातमा परेपछि जाँदैन, मसी जस्तो लागिरहन्छ।

कम केमिकलयुक्त रङहरू जस्तो फूल, वनस्पती र प्राकृतिक रूपबाट बनेका रङहरुको छनोट गर्नु पर्छ।

वनस्पतीबाट बनाइएका रङहरू धेरै चहकिला हुँदैनन् यस्तो कम चहकिला रङहरू स्वस्थकर नै हुन्छन्।

विशेष गरेर होलीको रङबाट बालबालिका र गर्भवतीलाई बचाउनु पर्ने हुन्छ। उनीहरुको छाला बढी सम्वेदनशील हुने भएकाले केमिकलयुक्त रङले उनीहरूलाई निकै असर पुर्याउँछ।

जथाभावी रङको प्रयोग गर्नु हुँदैन। रङ नखेल्नेहरुलाई पनि लोलाहरु हानेर समस्यामा पार्नु हुँदैन। फोहोर पानी छ्याप्नु हुँदैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार