निर्वाचन आयोगले प्रधानन्यायाधीसँग माग्यो– १९५ जनाको नामावली

  Manaslu Post  560 पटक हेरिएको

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अधिकृतका लागि न्यायाधीसहित न्याय सेवाका अधिकृत गरी १९५ जनाको नाम उपलब्ध गराउन प्रधानन्यायाधीसँग आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको नेतृत्वमा गएको टोलीले प्रधानन्यायाधीस एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीलाई भेट गरी असोज ४ गतेसम्ममा नाम उपलब्ध गराइदिन आग्रह गरेको हो ।

मंसिर १० र २१ गते हुने निर्वाचनका लागि न्यायाधीश ८७ जना तथा न्याय सेवाका अधिकृतहरू १०८ जना गरी १९५ जना (जगेडा समेत) को नामावली असोज ४ गतेसम्ममा उपलब्ध गराउने सम्बन्धमा प्रधान न्यायाधीशलाई आग्रह गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य ऐन तथा प्रदेशसभा सदस्य ऐन २०७४ ले व्यवस्था गरेअनुसार जिल्ला न्यायाधीशलाई सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतको रूपमा र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको रूपमा नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार नाम उपलब्ध गराउन आयोगले आग्रह गरेको हो ।

प्रमुख आयुक्त यादवले जिल्ला न्यायाधीशहरूको नेतृत्वमा न्याय सेवा तथा अन्य सेवाका अधिकृतहरूबाट वैशाख ३१ र असार १४ गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको स्मरण गराउँदै तेस्रो चरणमा असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनका लागिसमेत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीशहरू तथा न्याय सेवा र अन्य सेवाका अधिकृतहरू खटिएको जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त यादवको नेतृत्वमा निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल तथा सुधीरकुमार शाह र आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालसहितको टोली आइतबार सर्वोच्च अदालत पुगी भेट गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार