रहिनन् गायिका दिलमाया खाती

MANASLU TVलाई SUBSCRIBE गरिदिनुहोला ।

  मनास्लु पाेष्ट  17 पटक हेरिएको

बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाईलो गाउँमा…’

यो वर्षको दशैं नजिकिँदै गर्दा यो गीत रेडियोबाट बज्न थालेको छ । तर यो गीतकी अग्रज गायिका दिलमाया खाती अब हामीमाझ रहिनन् । पूर्वी भारतको दर्जिलिङमा रहेर संगीत साधना गर्दै आएकी उनको म‌गलबार राती दर्जिलिङमा ८४ वर्षको निधन भएको छ ।

गायिका खाती लामो समयदेखि दम रोगबाट पीडित थिईन् । उनलाई सोही रोगले हामीबाट टाढा लगेको छ । परिवारजनका अनुसार यी गायिकाको बुधबार अन्त्यष्टी गरिएको छ ।

दर्जिलिङमा रहेर नेपाली संगीतको सेवा गर्ने कलाकार मध्य दिलमायाँ अग्रज सुचीमा पर्थिन । गायिका खातीको जन्म ६ अक्टोबर सन् १९३९ मा दार्जिलिङमा भएको हो । बाल्यकालदेखि गायनमा रुची राख्ने उनी त्यतिबेला गोपाल योञ्जन, कर्म योञ्जन, अम्बर गुरुङलगायतको संगतले गायनमा लागेकी थिईन् । दार्जिलिङमा रहेर त्यतिबेला नेपाली गीत रेकर्ड गरेर मुलधारको गायनमा आउन सजिलो थिएन । त्यसैले पहिलो पटक उनी गायिका बन्न भनेर सन् १९६२ मा काठमाडौं आएकी थिईन् ।

काठमाडौं आएपछि त्यतिबेला उनले संगीतकार शिवशंकर मानन्धर, नातिकाजी श्रेष्ठलगायतलाई भेटिन् । उनको स्वर सुनेपछि शिवशंकर, नातिकाजीले गीत रेकर्ड गर्न सुझाब दिएका थिए । गायिका तारादेवीले त दिलमायाको स्वरको निकै तारिफ गरेकी थिइन् । तिनै अग्रज कलाकारहरुको प्रेरणाले आफु गायनमा लाग्न सफल भएको गायिका दिलमाया खातीले बताउने गरेकी थिईन् ।

संगीतमा जीवन समर्पण गरेकी गायिका खाती आजिवन अविवाहित रहिन् । विवाह गरेपछि आफुले स्वतन्त्र रुपमा गीत गाउन नपाउने उनलाई डर थियो । गायनसँगै उनले संगीत सृजनालाई नै जीवनको साधनाको रुपमा अँगालिन् र यसैमा आफुलाई समर्पण गरेर विदा भईन् ।

गायक नारायण गोपालको निकै प्रिय गायिका दिलमायाँ थिईन । सन १९७२ तिर दार्जिलिङ गएको बेला दिलमायाँसँग नारायण गोपालको भेट भएको थियो । त्यतिबेलासम्म उनले गायिका दिलमायाँको गीत सुनिसकेका थिए । नारायण गोपालकै प्रस्तावमा नेपाल आएर दिलमायाँले नारायण गोपालको संगीतमा ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा…’ गीत गाएकी थिईन् । यो गीत त्यतिबेला देखि अहिलेसम्म पनि हरेक दशैंमा बज्ने गर्दछ ।

दार्जिलिङमै रहेर सँगीत सृजना गर्दै आएका कर्मा योञ्जनको संगीतमा गायिका दिलमायाँले बढी गीत गाएकी थिईन्। त्यसो त उनले गोपाल योञ्जन, नारायण गोपाल, रत्नबहादुर खड्गी, तारादेवी, मिरा राणालगायतका धेरै संगीतकारको संगीतमा गीत गाईन् ।

नेपालमा अग्रज गीतकार गोपाल योञ्जन, रत्न शमशेर, जी शाह, उशा शेरचन, इश्वर बल्लभ, नगेन्द्र थापा, रमा सिंह। रविन देशारजस्ता थुप्रै अग्रज गीतकारहरुको रचनामा स्वर दिएकी दिलमायाँ आफुलाई शब्द मन परेपछि मात्र त्यो गीत रेकर्ड गर्थिन । यसरी अग्रज पुस्ता नारायण गोपालदेखि नयाँ पुस्ताका शैलेस सिंहसम्म उनले गीत गाईन् । एक दशक अघिबाट दम रोगले सताएपछि उनले गीत गाउन छाडेकी थिईन् । अन्तत दमले नै हामीबाट उनलाई सँधैको लागि टाढा लग्यो ।

गायिका खातीले १५० भन्दा बढी नेपाली गीतहरु गाएकी थिईन् । खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती, सम्हाल पछ्यौरि त्यो लत्री सक्यो भुइँमा, सम्झेर बुझेर दिइहाल त्यो जोवन, अरु केही माग्दिनँ म, तिमी देख्दा रहर होला लागेर आउँछ, छल गर्यौ हेर्दा हेर्दै मलाई, सावन फर्की फेरि झर्यो माया, तिम्रो जीवनमा फूल बर्सन्छ भने, न्याउली बास्यो, विषालु रहेछ नि माया, आजकल म किनकिन, लिलीको सुवास चोरिनँ मैले, उनलाई देख्दा किन किन जस्ता कैयौं कालजायी सदावहार गीत नेपाली संगीत क्षेत्रलाई छाडेर हामीबाट उनी टाढा भएकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार