पुराना दलहरु मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोज्दैछन् : डा. भट्टराई

  मन बहादुर पुन  596 पटक हेरिएको

धनुषाधाम – आगामी असोज २ गतेका लागि निर्धारण गरिएको २ नं. प्रदेशको चुनावी प्रचारमा हिंड्नुभएका नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले मंगलबार धनुषाका विभिन्न स्थानहरुमा चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ । चुनावी कार्यक्रमहरुमा सहभागिता जनाउँदै उहाँले मंगलबार दिउँसो धनुषाधाम नगरपालिका वडा नं. २ को मंगलपुर एवं वडा नं. ३ को तेजनगरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुराना पार्टीहरुले चुनावको मुखमा सपनाको व्यापार गर्ने गरेको र आम मतदातालाई आर्थिक लोभलालच देखाएर प्रभावित पार्न खोजेको भन्दै त्यस्तो हर्कतका विरुद्ध जनता सचेत भएर आफ्नो अमूल्य मतको रक्षा गर्नुपर्ने बताउनुभयो ।

उहाँले पुराना दलहरुले चुनावमा धेरै आश्वासन दिने र बाचा गर्ने तर चुनावपछि ती सबै बाचा विर्सेर भ्रष्टाचारजन्य गतिविधिमा डुब्ने गरेको भन्दै त्यस्तो झुठो सपनाको पछाडि नलाग्नसमेत मतदातालाई आग्रह गर्नुभयो ।देशको राजनीति फोहोर भएकोले त्यो फोहोर राजनीति सफा गर्नकै लागि नयाँ शक्तिको उदय भएको बताउँदै संयोजक डा. भट्टराईले भन्नुभयो – ‘जसरी पोखरीको माछा कुहिएपछि गन्हाउँछ, त्यसैगरी राजनीति पनि फोहोर भएर गन्हाएको छ । त्यो फोहोर सफा गर्ने आँट गर्नैपर्छ, नयाँ शक्तिले नयाँ यात्रा सुरु गरेर त्यो आँट गरेको छ ।’

उहाँले युवा र नयाँ पुस्ता मिलेर अब देशलाई नयाँ विकल्प दिनुपर्ने बताउँदै राजनीतिलाई पेशा नभई सेवाभावको रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा धनुषाधाम नगरपालिकाको प्रमुख पदका दाबेदार नवराज बास्कोटाले आफू इमान्दारितापूर्वक जनताको सेवा गर्ने उद्देश्य राखेर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभयो । उहाँले धनुषाधाम नगरपालिकाको धार्मिक एवं पर्यटकीय विकासका लागि आफू निरन्तर लागिरहने अठोट व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सँगको साझेदारीमा निर्वाचनमा होमिएको नयाँ शक्तिले धनुषाधाम नगरपालिकाको उपप्रमुखमा लछुमनियादेवी यादवलाई उठाएको छ । त्यस्तै पार्टीले वडा नं. १ को वडा अध्यक्ष पदमा केशर मुखिया, २ मा श्रवण कुमार यादव, ३ मा शिवजी मण्डल, ४ मा मसुधन यादव, ५ मा चुनिशरण यादव, ६ मा सुवन यादव, ७ मा सन्तोष यादव र वडा नं. ९ को अध्यक्ष पदमा रञ्जीव यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार