काठमाडाैं, २८ भदाै ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उलंघन गरेको स्विकार गर्नु भएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेपनि प्रधानमन्त्रीलाई कार्वाही गर्न मिल्ने अवस्था नरहेको प्रतिक्रिया पनि दिनु भयो ।
निर्वाचन आचारसंहिता विपरित प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गरेकोमा सर्वत्र आलोचना भईरहेको छ । तर प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन गरेको विषयलाई लिएर आफू विवादमा आउन नचाहेको पनि स्पष्ट पार्नु भयो ।
आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिता पालना गराउने निकाय आफैले उलंघन गर्नु हुन्न भन्ने मान्यतामा निर्वाचन आयोग सजक रहेको बताउनुभयो । उहाँले आयोगको सम्पूर्ण ध्यान निर्वाचनलाई सफल बनाउन केन्द्रित भएको जानकारी दिनु भयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयोग सजग र सचेत रहेकोे स्पष्टिकरण दिनुभयो । उहाँले निर्वाचन आचारसंहिता व्यापक उलंघन भएको भन्ने भनाईमा सत्यता नरहेको दावी पनि गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आचारसहिता उलंंघन हुन नदिन आयोगले नियमनको कामलाई कडाइका साथ अघि बढाएको पनि उल्लेख गर्नु भयो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन हुन नदिन आयुक्तहरुकै नेतृत्वमा अनुगमन टोलीनै परिचालन गरेको छ ।