सिरहा – असोज २ गतेको स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा नयाँ शक्ति पार्टीले मधेशमा आफ्नो चुनावी अभियान तीव्र बनाएको छ । २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका स्थानीय तहहरुमा हुन गइरहेको अन्तिम चरणको निर्वाचनको प्रचारप्रसारका लागि केन्द्रीय नेतृत्व विगत केही दिनदेखि मधेशका विभिन्न जिल्लाहरुमा सक्रिय छ ।
मंगलबार धनुषा जिल्लाका विभिन्न क्षेत्रमा चुनावी सभाहरुलाई सम्बोधन गर्दै पार्टीका संयोजक डा. बाबुराम मंगलबार बेलुका सिरहा आइपुग्नुभएको छ । उहाँ बुधबार सिरहा नगरपालिकाका विभिन्न क्षेत्रका चुनावी कार्यक्रममा सहभागी भई सप्तरी प्रस्थान गर्नुभएको छ ।
त्यस्तै नयाँ शक्ति पार्टीकै नेतृ हिसिला यमी, केन्द्रीय कार्यालय प्रमुख गंगा नारायण श्रेष्ठ एवं प्रचार विभाग प्रमुख प्रशान्त सिंह पनि विगत केही दिनदेखि चुनावी अभियानमा संलग्न हुनुभएको छ । उहाँहरु मंगलबार सिरहास्थित कर्जनहा नगरपालिकाको बन्दीपुरको चुनावी प्रचारमा संलग्न भई रौतहट प्रस्थान गर्नुभएको छ ।
उता नयाँ शक्तिकै संसदीय दलका नेता गंगा चौधरी र नेतृ करिष्मा मानन्धर पनि विगत केही दिनदेखि नै मधेशको चुनावी प्रचारमा सक्रिय हुनुहुन्छ । उहाँहरु पनि सिरहाकै चुनावी प्रचारमा केन्द्रीत हुनुहुन्छ ।
नयाँ शक्तिले मंगलबार साँझ सिरहाको कर्जनहा नगरपालिकास्थित बन्दिपुरमा संक्षिप्त चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सभ्यताको जग बसाल्न नेपालका तीन मुख्य जातीय क्लस्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले तीनै समुदायसहित महिला, दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायलाई अधिकार सम्पन्न बनाई आर्थिक विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले जनताको राजनीतिक अधिकारको मुख्य विषय विकास र समृद्धि भएकोले राजनीतिक अधिकार स्थापित गर्नकै लागि देशलाई समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।