हिमाली जिल्ला मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा बाहिरने

  मनास्लु पोष्ट  1077 पटक हेरिएको

 

दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । प्रयाप्त चरन, कोरला नाकामा सहजै पहुँच, बजार मुल्य, जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगले भेडापालनमा आर्कषित भएका मुस्ताङबासी गतबर्षको तुलनामा धेरै भेडाच्याङ्ग्रा विक्री गर्ने भएका छन् । चाडपर्वको रौनकता सुरू भएसंगै धौलागिरि अञ्चलका साथै कास्की, चितवन, काठमाण्डौ लगाएत देशका विभिन्न जिल्लाबाट ब्यापारी उपल्लोका कृषकहरूको गोठमै पुगेका छन् ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाउँमा भेडापालक कृषकहरूले चरन क्षेत्रबाट भेडाहरूलाई बस्ती तर्फ ल्याउन थालेका छन् । यसबर्ष दशै नजिक भएकाले पनि भेडापालक कृषकले खरिद–विक्री सुरू गरेको जिल्ला पशुसेवा कार्यालयका योजना अधिकृत आइत बहादुर थकालीले बताए । उनका अनुसार पछिल्लो समय उपयुक्त चरनक्षेत्रका कारण पनि यूवाहरू समेत भेडापालनमा सक्रिय भएको बताए । यसबर्ष चरन क्षेत्रमा कुनैपनि रोगको संक्रमण नदेखिएकाले पनि स्वस्थ भेडाच्याङग्रा बजारमा जाने पशुसेवा कार्यालयले जनाएको छ ।

‘मनग्य आम्दानी हुने भएकाले पनि हरेकबर्ष कृषकले संख्या बढाउने गरेका छन ।स्थलगत रुपमै पुगेर प्राविधिक सहयोगले समेत उत्साहित छन्’ एक कर्मचारीले भने । गतबर्ष १३ हजार भेडा र ९ हजार च्याङ्ग्रा निर्यात भएको थियो । कृषकले भेडाच्याङ्ग्राबाट करिव २७ करोड कारोबार गरेका थिए ।भेडापालनलाई प्रमुख पेशा बनाएकाहरूले आम्दानीबाट घुम्ती चरन क्षेत्रको ब्यवस्था गरेर समेत संख्या बढाउन थालेपछि मुस्ताङबाटै धेरै भेडाच्याङ्ग्रा विक्री हुन थालेको पशु प्राविधिकहरुको भनाई छ ।

उपल्लो मुस्ताङमा रहेका विभिन्न स्थान सहित म्याग्दीको सिमानामा रहेको लेतेमा भेडाच्याङग्राको तथ्याङक राख्न कार्यालयले कर्मचारी समेत खटाएको छ । उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको आक्रमणले गोठमै ठुलो संख्यामा भेडाच्याङ्ग्रा मारेपछि कृषकले बस्ती नजिक तथा घुम्ती गोठ बनाएपछि यसबर्ष क्षती कम भएको छोसेरकी पासाङ गुरूङले भनिन् । उनले एक महिना अगाडी नै ब्यापारीहरू गाउँमा देखिएको बताईन् । नेपाल खाद्य संस्थानल मुस्ताङबाट १५ सयको हाराहारीमा भेडा लैजाने गरेको छ ।

तिब्वतबाट समेत भेडाच्याङग्रा भित्रिने
तिब्वतको सिमानामा सञ्चालन भइरहेको अन्तरदेशीय मेलामा भेडाच्याङग्राको खरिद–विक्री भइरहेको छ । तिब्वतीले मुस्ताङीलाई लक्षित गरेर विक्री गने आयोजित मेलामा अन्य जिल्लाबाट गएका ब्यापारीको सिधा पहुँच हुदैन् । ‘तिब्वती भेडाभन्दा पनि च्याङ्ग्राको माग धेरै छ । नेपाली बजारमा तिब्वती च्याङ्ग्राको राम्रो मुल्य पाइन्छ’ लोमान्थाङका इन्द्रधारा विष्टले बताए ।‘भेडाच्याङ्ग्राको खरिदका लागि मेलाले राहत मिलेको छ । नाका सहज भए ठुलो संख्यामा खपत हुन्छ’ उनले भने । तिब्वती ब्यापारीले चीनको बजारलाई पहिलो प्राथमिकता दिने गरेका छन् ।

विगतमा चीनमै माग बढेपछि नेपालीलाई विक्री गर्न अस्वीकार गरेका थिए । यसबर्ष तिब्वतबाट करिव ९ हजारको हाराहारीमा च्याङ्ग्रा भित्रिने अनुमान गरिएको छ । मेला सकिएपछि तिब्वती बजारबाट भेडाच्याङ्ग्रा ल्याउन कडाई हुने भएकाले पनि मेलामा ब्यापारी विच प्रस्तिस्पर्धा हुने गरेको छ । तिब्वती क्षेत्रका ब्यापारीले नेपाली बजारमा भनेजस्तो मुल्य पाउने भएपनि नियमित नाका सञ्चालन नहुदाँ समस्या खेप्नुपरेको गुनासो समेत गर्ने गरेका छन् । तिब्वतको झोङवासेन जिल्ला भेडाच्याङ्ग्राका लागि पकेट क्षेत्रको रुपमा लिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार