भदौ ३०, २०७४ काठमाडौं : असोज २ गते हुने प्रदेश २ कोे स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातमा मौन अवधि सुरु हुँदै छ। मतदान सुरु हुनु ४८ घण्टा अघिबाट सुरु हुने यस अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाउँदैनन् भने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत यो लागू हुनेछ। निर्वाचन आयोगका अनुसार मौन अवधिको उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ भने मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ। मौन अवधि सुरु भएपछि चुनाव प्रचारप्रसारलगायतका राजनीतिक गतिविधि गर्न नपाइने भन्दै आयोगले दलहरूलाई सचेतसमेत गराएको छ।
मौन अवधि सुरु भएपछि मतदान नसकिएसम्म चुनावी प्रचारप्रसारअन्तर्गत सभा, जुलुस, नाराबाजीलगायतका कुनै पनि गतिविधि गर्न नपाइने आयोगले बताएको छ। ‘शुक्रबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाउँछन् तर मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै पाइँदैन,’ आयोगका प्रवक्ता नवराज ढकालले भने। उनका अनुसार निर्वाचनको ४८ घण्टा अघिबाट नै मौन अवधि सुरु हुनेछ।
के गर्न पाइँदैन? आचारसंहिताको परिच्छेद २ को नियम ५९घ० अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, ‘उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन अवधि सुरु हुनुभन्दा अघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्नेछ ।’ यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ। मौन समयमा पालना गर्नुपर्ने आचारसंहिता उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ। त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन, २०७३ मा उल्लेख गरेको छ।