३० भदौ, काठमाडौं । थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’को अपहरणमा संलग्न भएको भन्दै प्रहरीले राप्ती व्यूरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुवास’लाई पक्राउ गरेको छ ।
शुक्रबार बिहानैदेखि घर्तीमगरको खोजीमा खटिएको प्रहरीले बाठामगरलाई अपरान्ह पक्राउ गरेको हो । प्रहरीले यसबारे औपचारिक रुपमा भने केही बताउन चाहेको छैन ।
भावाङ घर भएका बाठामगर माओवादी जनयुद्धताका संकटकालको समयमा विशेष क्षेत्रका सेक्रेटरी थिए । उनी पछि विप्लव समूहतिर लागेका थिए । बाठामगर समेतको योजनामा गाउँपालिका अध्यक्ष घर्तीमगरको अपहरण गरिएको प्रहरीको दावी छ ।
नेकपाका कार्यकर्ताहरुले अध्यक्ष घर्तीलाई गएराति थवाङबाट अपहरण गरेका थिए । नेकपाको जनसरकारको सल्लाहविना थवाङ गाउँसभाको कार्यक्रम आयोजना गरेको आरोपमा अपहरण गरिएको हो ।
नेकपाका रोल्पा जिल्ला सेक्रेटरी दलबहादुर खत्री ‘जागृति’ले आफूहरुको सल्लाहविना ‘पुरानो सरकार’को कार्यक्रम आयोजना गरेकाले सोधपुछका लागि वियोगलाई आफूहरुसँगै राखेको बताएका छन् ।
थवाङ गाउँसभाको कार्यक्रम उदघाटनका लागि शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री कृष्णबहादुर महरा थवाङ जाँदैछन् । सोही कार्यक्रम विथोल्ने उद्देश्यले नेकपाले गाउँपालिका अध्यक्ष घर्तीको अपहरण गरेको बुझिएको छ ।
खोजीमा सुरक्षाकर्मी व्यापक परिचालन
घर्तीको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, शुक्रबार बेलुकी सात बजेसम्म घर्ती फेला परेका छैनन् ।
काठमाडौंबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारीसहितको टोली रोल्पा गएको छ । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको छ । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रचण्डको थवाङ यात्रा नरोकिने
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार रोल्पाको थवाङ जाने कार्यक्रम यथावत रहेको उनको सचिवालयले जनाएको छ । प्रचण्डसँगै वर्षमान पुन ‘अनन्त’ लगायतका नेताहरु पनि थवाङ जानेछन् ।
प्रचण्डको सचिवालयका एक सदस्य प्रकाश दाहालले भने, ‘थवाङ जाने कार्यक्रम रोकिएको छैन, हामी भोलि बिहान त्यता प्रस्थान गर्छौं ।’
प्रचण्डको थवाङ आगमनलाई रोक्ने उद्देश्यका साथ थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई विप्लवका कार्यकर्ताहरुले अपहरण गरेको स्रोतले जनाएको छ ।