काठमाडौ, ५ असोज – नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ ।
बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान ९ः४१ बजे घटस्थापनाका लागि अति उत्तम साइत भनेको छ ।
शास्त्रमा जमरालाई समृद्धिको प्रतीक र आयुर्वेदमा पौष्टिक वनस्पति मानिएको छ ।
देवीलाई मन पर्ने बालीका रूपमा जमराका जौ, मकै र गहुँलाई मानिएको छ । असत्यमाथि सत्यको विजय र आसुरीमाथि दैवी शक्तिको विजयस्वरूप घटस्थापनादेखि नौ दिनसम्म जमरा राखिएको स्थान वा देवपीठमा दुर्गा सप्तसती चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ ।
यो नौ दिन घटस्थापनाका दिन शैलीपुत्री, अर्को दिन ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र बुद्धिदातृका रूपमा देवी भगवतीको आराधना गरिन्छ ।
घटस्थापनाका दिनदेखि कोजाग्रत पूर्णिमा भनिने आश्विन शुक्ल पूर्णिमासम्मको पन्ध्र दिन बडादसैँ देशभर धूमधामसँग मनाउने गरिन्छ ।