जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासत कक्षभित्रको शौचालय तोडेर तीन जना थुनुवा भागेका छन्। आज राति करिब एक बजे शौचालयभित्रको भेन्टिलेटरको एउटा छड भाँचेर सोही प्वालबाट थुनुवाहरु भागेको प्रहरी निरीक्षक रामचन्द्र साहले बताए।
गोरखा नगरपालिका ६ का दीपेश मझकोटी, भीमसेन गाउँपालिका ३ तान्द्राङका सन्दिप सुर्खेती र भीमसेन ३ कै अबिशेष अधिकारी भागेका हुन्। उनीहरु सबै १८ बर्ष उमेर मुनिका छन् भने सार्वजानिक अपराध मुद्दामा थुनामा परेका थिए।
मझकोटी भदौ १८, सुर्खेती र अधिकारी असोज ६ गते सार्वजानिक मुद्दामा थुनामा परेका थिए। प्रहरी निरीक्षक साहले भने, ‘राति प्रहरी डियुटी साटफेर हुँदा उनीहरु भागेछन्।’ ड्युटीमा खटिएको नयाँ प्रहरी टोलीले थुनुवा गणना गर्दा तीन जना नभेटिएपछि भागेको आशंकामा खोजी सुरु गरिएको थियो ।