काठमाडाैं, ७ असाेज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान जनताका मौलिक हक र समावेशिताका लागि विश्वमै उत्कृष्ट भएको बताउनु भएको छ । संविधान दिवसका अवसरमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान जारी भएपछि जनताले पाएका सबै प्रकारका अधिकार कसैले खोस्न नसक्ने बताउनु भयो ।
उहाँले संविधानले राज्यका तीनै अंगबीच शक्ति सन्तुलन र नियन्त्रणको उत्कृष्ट व्यवस्था गरेको र स्वतन्त्र न्यायापालिका नेपाली प्रजातन्त्रको खम्बा भएको बताउनु भयो । उहाँले सबैको सहभागितामा स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र सफल रुपमा सम्पन्न भएको बताउँदै यसै वर्ष संविधानअनुसारका संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन लागेको जानकारी दिनु भयो ।
समारोहमा भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलगायत राष्ट्र संघ र विभिन्न देशका उच्च अधिकारी सहभागी हुनु हुन्थ्यो । राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन त्यहाँ पुग्नु भएका प्रधानमन्त्री देउवाले आज राष्टसंघको ७२ औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।