संसद्को अन्तिम बैठक आज बस्दै

  मनास्लु पोष्ट  538 पटक हेरिएको

काठमाडौं, २७ असोज – गएको वर्ष असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक आज बस्दैछ । ६ सय १ सदस्यीय संविधानसभा संविधान जारी भएपछि कार्यान्वयनमा महत्वपूर्ण कार्य गर्नुपर्ने भन्दै संसद् रूपान्तरण भएको थियो ।

नयाँ संविधानको व्यवस्थाअनुसार संसद् स्वतः विघटन हुन लागेको हो । संसद्को म्याद माघ ७ गतेसम्म रहे पनि त्यसअगावै प्रतिनिधिसभा निर्वाचन हुने भए मनोनयनको अघिल्लो दिन स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु भोलि समाप्त हुँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार (पर्सि) तोकेको छ ।

२९ गते मनोनयन दर्ताको समय भएकाले आज संसद्को बैठक अन्तिम बस्न लागेको सभामुख ओनसरी घर्ती मगरले बताउनुभयो । सभामुख घर्तीले आज अन्तिम बैठक भएको जनाउ कार्यव्यवस्था परामर्श समितिको बुधबारको बैठकमा दलहरूलाई गराइसक्नु भएको छ ।

       यस्तै व्यवस्थापिका संसद आजको अन्तिम बैठकले महत्वपूर्ण तीनवटा विधेयक पारित गर्ने तयारी भएको छ । भाषा आयोग विधेयक आज पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ ।

संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारीअनुसार नियम निलम्बन गरिएको हो । प्रदेश प्रमुखको सेवा सुविधा सम्बन्धि विधेयक पनि पारित हुनेछ । संविधान जारी भएपछि ३ असोज २०७२ मा संविधानसभाबाट व्यवस्थापिका-संसद्मा परिणत भएको संसद्ले संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने अधिकांश विधेयक पारित गरेको छ ।

आजकोे बैठकमा छलफल गरेर सकेजति विधेयक पारित गर्ने कार्यसूची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो । भोलि बिदाको दिन परेकाले आजको बैठकमा विगतको झै संसद् बैठक सञ्चालन हुनेछ । निर्वाचन आयोगले समानुपातिक सूची २९ गते र प्रत्यक्षतर्फ ५ कात्तिकमा मनोनयनको तालिका सार्वजनिक गरिसकेको छ । संसदको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार