दुई चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्रै हुने भएको छ। पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि र ७४ सिटका लागि प्रदेश सभाको निर्वाचन मंसिर १० गते हुँदैछ। तर, मंसिर १० गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना मंसिर २१ मा हुने दोस्रो चरणको निर्वाचनपछि मात्रै एकै पटक मतगणना गरिने छ।
निर्वाचन आयोगका प्रवक्ता एवं सचिव नवराज ढकालले दुवै चरणको निर्वाचनपछि मात्रै मतगणना सुरु गरिने बताए। मनास्लु पोष्टसँग कुराकानी गर्दै ढकालले भने,‘ यो निर्णय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेकै दिन दुवै चरणको निर्वाचनको मतगणना सुरु गर्ने भएको हो।’
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तीन चरणमा गराएपनि मतगणना भने निर्वाचन सकिएलगत्तै गराएको थियो। तर, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको पहिलो चरणको निर्वाचनको मतपरिणामले दोस्रो चरणको निर्वाचन प्रभावित हुने सक्ने आयोगको ठहर छ। आयोगले त्यही विश्लेषणसहित मंसिर १० मा ३२ जिल्लामा प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिएपनि मंसिर २१ को दोस्रो चरणको निर्वाचनपछि मात्रै मतपेटिका खोलेर गणना गर्ने निर्णय लिएको हो।
प्रवक्ता ढकालले निर्वाचन कार्यतालिकाका स्वीकृतिसँगै ३२ जिल्लाकै जिल्ला निर्वाचन कार्यालयहरुलाई सर्कुलर गरिसकिएको बताए। ‘मतदान सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख रहने गरी प्रहरीलाई त्यसको सुरक्षा गर्ने जिम्मा दिइनेछ। सबै जिल्लाले यसबारे आवश्यक तयारी गरिसकेका छन्। दोस्रो चरणको निर्वाचनसकिएपछि मतगणना सुरु हुनेछ,’ उनले भने।
आयोगका अनुसार मंसिर १० मा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मतपेटिकाको सुरक्षा नेपाल प्रहरीले गर्नेछ। मुख्य निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख र नियन्त्रणभित्रै मतपेटिकाको सुरक्षा प्रहरीले गर्ने आयोगले जनाएको छ।प्रहरीको सुरक्षा घेराभित्र मतपेटिका राख्दा सुरक्षित हुने भएकाले दोस्रो चरणमा मंसिर २१ को निर्वाचनपछि मात्रै गणनाका लागि मतपेटिका सम्बन्धित जिल्लाको केन्द्रमा पुर्याइने छ।३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरणको निर्वाचनको ११ दिनपछि बाँकी जिल्लामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनेछ। ११ दिनसम्म पहिलो चरणमा भएको निर्वाचनमा जनताले खसाएको मतको सुरक्षाका विषयमा भने प्रश्न उठेको छ। तर आयोगले प्रमुख निर्वाचन अधिृकतको निगरानी रहने गरी कडा सुरक्षा घेराभित्र मतपेटिका राखिने भएकाले सुरक्षाका सवालमा प्रश्न नउठाउन भनेको छ।