चितवनमा ६८ जना नयाँ एचआइभी संक्रमित भेटिए, प्रभावकारी बन्दै एआरटी उपचार पद्धति

  राजेन्द्र आचार्य  742 पटक हेरिएको

चितवन- चितवनमा एचआइभीका ६८ जना नयाँ संक्रमित भेटिएका छन्।

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालको सहकार्यमा भरतपुर अस्पतालमा ९ महिनाभित्र ती संक्रमित फेला परेका हुन्। उक्त अवधिमा १२ हजार १७ जना एचआइभी/एड्स रोग परीक्षण गर्न आएका थिए। संक्रमितमध्ये ३२ जनाले एआरटी सेवा लिएका छन्।

भरतपुर अस्पतालमा रहेर एचआइभी संक्रमितहरुको उपचार तथा परीक्षण गर्दै आएको एचएफ नेपालका अनुसार सबैभन्दा बढी २५ देखि ४९ वर्ष उमेर समूहका रहेको भरतपुर अस्पतालका एआरटी प्रमुख डा उन्नत श्रेष्ठले जानकारी दिए।

चितवनमा एचआइभी/एड्स संक्रमितले एआरटी उपचार पद्धतिबाट उपचार गर्ने क्रम बढेको छ। भरतपुर अस्पतालका अनुसार हालसम्म ७४८ जना संक्रमितले एआरटी उपचार सेवा लिएका छन्। यो तथ्यांक सन् २००७ सालदेखि २०१७ सेप्टेम्बर ३० सम्मको हो।

भरतपुर अस्पतालमार्फत नियमित रुपमा खुलेर औषधि उपचार गराइरहेका बिरामीको संख्या ७४८ रहेको एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए। जसमध्ये ३ सय ३६ जना पुरूष, ३ सय ४९ जना महिला र ६३ जना बालबालिका छन्।

सन् २०१५ को डिसेम्बरदेखि २०१६ को नोभेम्बरसम्म ६१ नयाँ एचआइभी संक्रमित पत्ता लागेका थिए भने २०१४ मा ८३ जना नयाँ संक्रमितहरु थपिए। संक्रमितमध्ये करिब ९९ प्रतिशत उपचारमा संलग्न भएको सापकोटाले बताए। सरकारले उपचार सेवालाई सहज बनाउँदै लगेका बिरामीको संख्यामा कमी उनको भनाइ छ।
प्रचारप्रसार र जनचेतनाका कारण संक्रमितहरु खुल्दै गएकाले समयमै रोग पत्ता लगाई उपचार गर्दा एआरटी पद्धति प्रभावकारी देखिएको भरतपुर अस्पतालका एआरटी प्रमुख डा उन्नत श्रेष्ठ बताउँछन्।

‘शंका लागेका व्यक्तिहरू रोग पहिचानका आफैँ आउनुहुन्छ,’ उनले भने, ‘त्यसकारण पनि उपचार गर्न सजिलो भएको छ। उहाँहरूले पनि समयमै उपचार पाउनुभएको छ।’

डा श्रेष्ठका अनुसार ७ जनालाई भने रोग पत्ता लगाएर पनि औषधि खुवाउन सकिएको छैन। एचएफ नेपालले चितवनसहित जिल्लामा ७ वर्ष एचआइभी संक्रमितका लागि उपचार तथा परामर्श सेवा दिँदै आइरहेको छ।स्वास्थ्यखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार