काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहालको टिम विजयी भएको छ ।
टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बन्नुभएका दाहालले ३ सय ३१ मतका साथ विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३ सय १३ मत प्राप्त गर्नुभएको थियो । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गर्नुभएको टान निर्वाचन समितिले जनाएको छ ।
टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी हुनुभएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताउनुभयो ।गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहनुभएका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक हुनुहुन्छ ।