गुल्मी/उदयपुर, १३ कत्तिक–धादिङ बस दुर्घटना भएको दुईदिन नबित्दै फेरी दुई ठुला सवारी दुर्घटना भएका छन् । गुल्मी र उदयपुरमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको र ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिनुभयो । बा४ख ५५०१ नम्बरको माईक्रो दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा र ३ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने मध्ये ४ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका ९ मा पसल गर्ने सुमित्रा दर्लामी, अर्घाखाँची भगवतीका रामप्रसाद पाण्डेय, मुसिकोट ३ का ५० बर्षिय मान कुमारी थापा मगर, व्रटिश वेलफेयर तम्घासका स्टाफ केवी गुरुङ ,चालक भमि घर्ति, अर्जै गुल्मीका लालबहादुर मुखिया रहेका छन् । गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको हो ।
सनाखतको लागि शव जिल्ला अस्पताल गुल्मी पु¥याईएको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल अर्यालले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनास्थलमा प्रहरी, शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सडकबाट करिब ३ सय मिटर भन्दा वढी तल खसेको थियो ।
यस्तै, उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिउँसो दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीबाट ओखलढुंगा जाँदै गरेको उक्त जिप सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीको सडकको भिरबाट ५०० मिटर तल खसेको थियो ।
शव भिरमा नै अड्किएका कारण निकाल्न कठिनाइ भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताउनुभएको छ ।
यता चालकलाई अस्पताल पु¥याएपछि उपचारका क्रममा मृत्यु भएको र आठ वर्षीय बालक र एक महिला भने घाइते अवस्थामा भेटिएका कारण स्थानीयवासीले प्रहरी पुग्नु अगाडि नै उद्धार गरेर निकालेको पनि प्रहरीले बताएको छ ।