फरार रहेका बालकृष्ण ढुंगेल सातदोबाटोबाट पक्राउ : मंगलबार डिल्लीबजार सदरखोर जेल चलान

  मनास्लु पोष्ट  622 पटक हेरिएको

माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।

लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर जेल चलान गरेको हो।

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।

माओवादीकै दबाबका कारण प्रहरी नेतृत्वले ढुंगेललाई पक्राउ गर्न सकेको थिएन । सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुंगा पोकली–२ का पूर्व सभासद ढुंगेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो। पछिल्ला दिनमा ढुंगेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतको संयुक्त इजलासबाट ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार