राजविराज: संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसका लागि आगामी मंसिर १० र २१ मा हुने निर्वाचन युद्ध भएकोले जसरी पनि जित्न पर्ने बताएका छन्। सप्तरीको प्रतिनिधि सभा दुईबाट बिहीबार हुने मनोनयनका लागि बुधबार राजविराज आइपुगेका यादवले पार्टी प्रवेश कार्यक्रममा बोल्दै निर्वाचन युद्धमा जुनसुकै हालतमा जित्नु पर्ने बताए।
उनले भने, ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिदै विगतमा मोरंग, सुनसरीबाट लडदै आएपनि आफ्नो जन्मभूमि सप्तरी भएकोले आगामी दिनको राजनीतिक कर्मभूमि सप्तरी नै रहने प्रतिबद्धता जनाए।
राजपासँग गठबन्धन गरेर निर्वाचनमा होमिएको फोरम अध्यक्ष यादवले दुई नम्बर प्रदेशको आठ जिल्लामा फोरमको झण्डा हर गाउँ, शहरमा फहराउनु पर्ने र मधेस राज्य बनाउनु पर्ने बताए। स्थानीय तहको चुनावमा जाँदा फोरमको सबैभन्दा बढी विरोध गर्ने राजपा पछ्याउँदै-पछ्याउँदै अन्ततः गठबन्धन गर्न आएकोले फोरमको नीति, राजनीतिक लाइन र मुद्दा ठिक रहेको पुष्टि भएको दावी गरे।
कार्यक्रममा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्षसहित सयौ व्यक्ति फोरममा प्रवेश गरे।सदभावना, एमाले, लोकतान्त्रिक फोरम हुँदै संघीय समाजवादी फोरम प्रवेश गरेका चौधरीले अब उपेन्द्र यादवको सहयोगी र सहयात्री बनेर अन्त्यसम्म यही पार्टीमा जीवन बिताउने बताए।
जिल्ला अध्यक्ष दिनेश यादवको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्यहरु अनिरुद्धप्रसाद सिंह यादव, शैलेन्द्रप्रसाद साह, बिनोद चौधरीलगायतकाले मन्तव्य राखेका थिए।