काठमाडौं निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र उम्मेदवारलाई कडा कारबाही गर्न प्रमुख निर्वाचन अनुगमनकर्ताहरुलाई प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्देशन दिएका छन्।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमनमा खटिने नेपाल सरकारका सचिव एवम् सहसचिवहरुको अभिमुखीकरण कार्यक्रमको आइतबार उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले आचारसंहिता पालना गराउन निर्देशन दिएका हुन् । उनले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा उम्मेदवारलाई कडाइका साथ कारवाही गर्न निर्देशन दिनुका साथै विकट भौगोलिक अवस्था, चिसो मौसम तथा सञ्चार सम्पर्क हुन नसक्ने जस्ता व्यवधानहरुको उचित व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षसँग समन्वय एवं सहकार्य गरेर काम गर्न निर्देशन दिएका छन्।
प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन सञ्चालनका क्रममा निर्वाचन आचारसंहितामा आउन सक्ने व्यवधानलाई पूर्वानुमान गरी रोकथामका उपायहरू अवलम्बन गर्न निर्देशन दिए। उनले भने, जनताको मतबाटै लोकतन्त्र संस्थागत हुने भएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन चनाखो भई दृढताका साथ काम गर्न आवश्यक रहेको छ। त्यस्तै निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन भूमिका खेल्न आवश्यक रहेको बताए। उनले चुनावलाई कम खर्चिलो बनाउन, राज्यको स्रोतको दुरूपयोग हुन नदिन तथा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताबीच हुन सक्ने द्वन्द्वलाई रोक्न निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउनुपर्ने बताए। निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन कुनै गुनासो आउन नदिने गरी काम गर्न प्रमुख अनुगमनकर्ताहरूलाई सुझाव दिए। उनले अनुगमनका क्रममा मु्ख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारी लगायतसँग आवश्यक समन्वयको भूमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए। अनुगमन टोलीमा एकजना उपमहालेखापरीक्षक र सहसचिवहरू गरी ३७ जना रहेका छन्।