उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७।३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पका कारण १ सय २९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७।३ रहेको जनाइएको छ।
अधिकारीहरुले सरकारी सञ्चारमाध्यमलाई बताए अनुसार इरानको पश्चिमी केरमनसा प्रान्तमा कम्तीमा १ सय २९ जनाको मृत्यु भएको हो ।
इराकमा अन्य चारको ज्यान गएको बताइएको छ। मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ।
भूकम्प गएसँगै मानिसहरु अत्तालिएर घरबाट बाहिर सडकमा निस्किरहेका छन्।
इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा कुवेतमा मानिसहरु बाहिर सडकमा भेला भएको र परकम्प आउन सक्ने डरले आफ्नो घरमा फर्किन डराएको देखिन्छ।
इरानबाट आएका खबरहरुका अनुसार इराक नजिकैको सीमा क्षेत्रका थुप्रै गाउँहरुमा क्षति पुगेको छ।इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमले कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको खबरहरु आएको बताएका छन्।
अन्य गाउँहरुमा विजुली आपूर्ति बन्द भएको छ भने त्यहाँको सञ्चार सेवा पनि अवरुद्ध भएको छ।
भूकम्पको क्षतिको अन्य विवरण भने आउन बाँकि छ ।