काठमाडौँ । निर्वाचन आयोगले मतदाताले सुरक्षित ढंगले मतदान गर्न जाने वातावरण सिर्जना गर्न सम्भव भएसम्म सबै उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको आज काठमाडौमा बसेको बैठकले निर्वाचन बिथोल्न खोज्ने कुनै पनि व्यक्ति, शक्ति र समूहलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय गरेको समितिका संयोजक एवं निर्वाचन आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो ।
बैठकमा सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गरेको सुरक्षा प्रबन्धको समीक्षा गरिएको थियो । बैठकले निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन राजनीतिक दल, उम्मेदवार र मतदाता एवम् सबै सरोकारवालाको सहयोग र समन्वयमा अघि बढ्ने निष्कर्ष पनि निकालेको छ ।
सरकारले आगामी निर्वाचनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीसमेत गरी दुई लाख ७२ हजार सुरक्षा जनशक्ति परिचालन भइसकेको जनाएको छ । बैठकमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरुले आपसी समन्वयमा गरेका कार्यबाट आम जनताले सुरक्षाको महसुश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्न नेपाल सरकारसँग आग्रह गर्दै उहाँले निर्वाचनको मौन अवधि शुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशनसमेत दिनुभएको थियो । आयुक्त नरेन्द्र दाहालले सुरक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिनुभयो ।
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिई कानूनअनुसार कारबाही गरिरहेको र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको जानकारी गराउनुभएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
रक्षा मन्त्रालयका सचिव विनोद केसीले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि आवश्यक सबै सहयोग गर्नुपर्ने सहयोग गर्न नेपाली सेना सदा तत्पर रहिआएको बताउनुभयो ।
बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलीपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरीले आ–आफ्ना संगठनबाट सम्पादन भइरहेका कार्य प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।