काठमाडौं, ६ मंसिर – मंसिर १० गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत हिजोदेखि खटिएको भोलि बिहानसम्म सबै मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले हिजोदेखि कर्मचारी खटाउन थालि सकेका छन् । आयोगले यसअघि मंसिर १० र २१ को निर्वाचनमा खटिने ४ लाख ९२ हजार कर्मचारी खटिदै छन् ।
दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अनुगमनमा खटिएका ७५ जना सहसचिवले आजदेखि काम सुरु गर्दैछन् । मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने निर्वाचनका लागि अनुगमनमा खटिएका सहसचिवले आजदेखि काम सुरु गर्ने भएका हुन् ।
अनुगमन टोली प्रमुखको जिम्मेवारी पाउनुभएका सहसचिवले आजदेखि मंसिर २३ गतेसम्म तोकिएको जिल्ला र निर्वाचन क्षेत्रमा अनुगमन थाल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जनाकारी दिनुभयो । उहाँका अनुसार ती सहसचिवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन सहजकर्ताको समेत भूमिका निर्वाह गर्नेछन् ।
सहसचिवहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कसैलाई पनि ठाउँका ठाउँ कारबाही गर्न सक्ने अधिकार प्रदान गरिएको समेत प्रवक्ता ढकालले बताउनुभयो । निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिवलाई हिजो जिल्ला खटाएको थियो ।