मंसिर काठमाडौ । अन्नपुर्ण गाउपालिका ८ राम्चे काफलडाँडामा यहि आउदो मंसिर १२ गते पुन समुदायको कुलदेवता करवाकेलीबाबाको पुजा हुन गइरहेको छ । यो बर्ष उजेली मंगलवार मंसिर १२ गते परेको हुनाले १२ गते नै पुजा सुरुहुन गइरहेको करवाकेलीबाबाको अनुसन्धानकर्ता एवं समाजसेवी चाम बहादुर पुनले बताए । राम्चे काफलडाँडामा पुन समुदायको राष्ट्रिय थानमा करवाकेलीबाबाको कुलपुजा गर्न देश तथा विदेशबाट पुन समुदायहरुको बाक्लो उपस्थिति हुने भएकोले पुजामा आएका पाहुनाहरुलाई ब्यबस्थापन गर्न करबाकेलीबाबा संरक्षण समिति राम्चे काफलडाँडाका सम्पुर्ण टिम लागिपरेको जनाएकाछन ।
कुलपुजा बेजोड बर्षमा एक पटक जेष्ठ पुर्णिमाको दिन चोखो स्थानमा थान वनाएर शुन्य रातमा बिजोड पुजारीहरुले नबोलिकन पुजा गर्ने चलन रहेको छ । जेष्ठ पुर्णिमा पुन समुदायको एक पर्वको रुपमा लिइन्छ । यसैदिन शुन्यरातमा करबाकेलीवावालाई पानीको पधेराबाट बेटको सोलीमा राखेर, बेटको नाम्लोले बोकी,बेटको सुपोले ढाकी,बेटकै लौरी टेकी आफ्नै घरमा ल्याएका थिए भन्ने पुन समुदायमा पुर्खौली कथन रहेको छ । आजभोली विभिन्न समस्याहरुले गर्दा जेष्ठ पुर्णिमा भन्दा मंसिर महिनाको उजेली (शुक्ल पक्ष)मा करबाकेलीबाबाको कुलपुजा गर्ने गरिन्छ ।
देश विदेशबाट यो समयमा पुजा गर्न नसके साउन र पुष महिना बाहेकको उजेली पक्षको पहिलो मंगलवार पारेर काम फुकाउन सकिन्छ । करबाकेलीबाबाको राष्ट्रिय स्तरको थान राम्चे काफलडाँडामा पुन समुदायहरुले सामुहिक कुलपुजा गर्नुका साथै प्रत्यक मानिसले करबाकेलीबाबाको थानमा फलफुल भेटी,ध्वजा,र धुप बालेर पुजा गर्न सकिन्छ । जेष्ठ पुर्णिमा र मंसिरको उजेली मंगलवारका दिन सबै पुन समुदाय करबाकेलीबाबाको थानमा भेला भई कुलपुजाको हेपाजी (प्रसाद) लिने चलन रहेको छ । कुलपुजा गर्ने दिनमा आफ्नो वंशका र छरछिमेकका इष्टमित्रहरुलाई पुजाको प्रसाद खान निमन्त्रणा गरिन्छ । यस दिनमा सवै इष्टमित्रहरुसँग भेटहुने र नातागोताको पहिचान हुने बिषेस दिनकोरुपमा लिइन्छ ।
करबाकेलीबाबाको थानमा पुर्खादेखि चलिआएको पुजाआजा अनुसार जेठा रामचनलाई कुखुराको भाले र कान्छा कुलचनलाई भेडाको साँढ वा बाख्रको पाठाले पुजा गरिन्छ ।