काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा को आगामी जनवरीमा हुने निर्वाचन मिति नजिकिएसँगै पर्यटनमा पुन निर्वाचन बहस सुरु भएको छ । नाट्टाको आगामी नेतृत्वका लागि सम्राट टूर्स एन्ट ट्राभल प्रबन्धनिर्देशक सिएन पाण्डे, सि एन्ड स्काई टूर्सका प्रबन्ध निर्देशक अच्यूत गुरागाई, चियरफुल टूर्स एन्ड ट्राभल प्रबन्ध निर्देशक नारायण प्रसाद गुरुङ्ग कोने र डिके टूर्स एन्ड ट्राभलका प्रबन्धनिर्देशक दिपेन्द्रकुमार शर्मा घिमिरेको चर्चा सुरु भएको छ ।
पाण्डे नाटाका वर्तमान प्रथम उपाध्यक्ष, शर्मा द्वितिय उपाध्यक्ष, गुरागाई पूर्व महासचिव र कोने पूर्वकोषाध्यक्ष हुन । अध्यक्ष लगायतका अन्य उम्मेदवारहरुको चर्चा चलेसँगै नाट्टामा पनि भर्खरै सम्पन्न टान निर्वाचनकै पुनराबृती हुने देखिएको छ । जसका लागि बाम गठबन्धनले पाण्डेलाई अघि सार्ने देखिन्छ भने लोकतान्त्रिक व्यवसायीहरुको तर्फबाट गुरागाईलाई अघि सार्ने देखिन्छ । यता स्वतन्त्र व्यवसायीको तर्फबाट युवा पर्यटन व्यवसायी शर्मा र कोनेको नाम चर्चामा रहेको छ ।
नाट्टा सम्बद्ध व्यवसायीहरुले पछिल्लो समय नाट्टामा चरम राजनीतिक गुटबन्दीका बीच नेतृत्व चयन गर्ने काम भइरहेको भन्दै आक्रोष पोखेका छन् । उनीहरुले नाट्टा हाक्नका लागि गैरराजनीतिक र अनुभवी व्यवसायीक नेतृत्व आवश्यक रहेको भन्दै नेतृत्व चयनमा मनोपोली नगर्न अग्रजहरुलाई आग्रह गरेका छन् ।
नेपालमा मात्र होइन अन्तराष्ट्रिय बजारमा पनि नाट्टाको छुटै साख छ । विशेषत अन्तर्राष्ट्यि बजारमा नेपालको सकारात्मक प्रचारगर्दै मुलुकमा पर्यटन आगमन बढाउन सहयोगीको रुपमा काम गर्दै आएको छ । सोही अनुसार नेपालमा पर्यटक आगमन बढाउन र पर्यटकीय गतिविधिहरुलाई गतिशिल बनाउन नाट्टाले ठुलो भूमिका निर्वाह गर्ने हुदा राजनीतिक गुट, उपगुट भन्दा पनि साझा र अनुभवी व्यवसायीकको नेतृत्व नाट्टाले खोजी गरिरहेको व्यवसायीहरुले बताएका छन् ।