मंसिर १९, २०७४ काठमाडौंः निर्वाचन आयोगले बिहीबार दोस्रो चरणको मतदान सम्पन्न हुनेवित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले बिहीबार अपराह्न ५ बजे मतदान सकिनेवित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिएका हुन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको पनि स्पष्ट पारे। निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए। स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको पनि निर्वाचन आयुक्त पौडेलको भनाइ थियो।
निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउनेगरी व्यवस्था गरिने पनि स्पष्ट पारेको छ। निर्वाचन आयुक्त पौडेलले मतगणनास्थलमा उच्च सुरक्षा सतर्कता अपनाइने पनि बताए। निर्वाचन आयोगले आठ दिनभित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ। आगामी बिहीबार दोस्रो चरणमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदै छ। पहिलो चरणको निर्वाचन गत मंसिर १० गते सम्पन्न भइसकेको छ।