मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना ११ दिनपछि बिहीबार साँझ ६ बजेदेखि गणना कार्य अघि बढाइएको छ। गोरखा १ को मतगणना महिला तथा बालबालिका कार्यालयको कोठा र गोरखा २ को जिल्ला समन्वय समिति गोरखामा गणना सुरु गरिएको हो।प्रतिनिधिसभाको मतगणना दुई वटा घेरा बनाएर गनिएको छ। एउटा घेरामा तीन हजार र अर्को घेरामा तीन हजार मत गणना कार्य अघि बढाइएको छ।
गोरखा नगरपालिका ८ देखि १३ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाका मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिलाएर गणना कार्य अघि बढाइएको छ।
गोरखा २ मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् भने अन्य दलबाट पनि उमेद्वार छन्।
यस्तै महिला तथा बालबालिका कार्यालयमा गोरखा १ को गोरखा नगरपालिका १ देखि ७ नम्बर वडा, गण्डकी, सहिद लखन, भीमसेन, धार्चे, आरुघाट, चुमनुब्री गाउँपालिकाका मतहरु एकै थुप्रोमा राखेर मतगणना कार्य अघि बढाइएको छ।
गोरखा १ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता हरिराज अधिकारीबीच मुख्य प्रतिस्पर्धा रहेको छ। यहाँ पनि दुई घेरा बनाएर मतगणना कार्य अघि बढाइएको छ।
यस्तै प्रदेशसभा क्षेत्रको पनि प्रत्यक्षतर्फ मतगणना कार्य अघि बढाउने तयारी गरिएको छ। केही बेरमा गणना अघि बढाउने जानकारी दिइएको छ। पहिले प्रत्यक्षतर्फको मतगणना गरिन्छ। अपरान्ह ५ बजे देखि मतगणना कार्य अघि बढाउने भनेपनि ६ बजेपछि मात्रै मतपेटिका खोलिएको थियो।
यस्तै एक एक घण्टामा मतपरिणाम सार्वजानिक गर्ने भनिएको छ। मतगणना स्थलसम्म पुग्न र मतगणनाको तस्वीर लिन पत्रकारहरुलाई समस्या छ। ६ वटा सुरक्षा घेरा पार गरेर पत्रकारहरु मतगणना गरिएको भबनसम्म पुग्नुपर्ने बाध्यता छ। मिडिया सेण्टर सञ्चालनमा ल्याउने भनेपनि अहिलेसम्म सञ्चालनमा आएको छैन।
मतगणना सुरु गरेपछि गाउँगाउँबाट दलका कार्यकर्ता तथा शुभेच्छुक सदरमुकाम आएका छन्। सडकमा सवारीको चाप बढेको छ भने होटलहरु भरिभराउ छन्। प्रत्यक्षतर्फको मत गनिसक्न कम्तिमा दुई दिन लाग्छ। गोरखा २ मा ६० हजार मत र गोरखा १ मा ६३ हजार मत गन्नुपर्नेछ। गोरखामा ६३ प्रतिशत मत खसेको थियो।