सर्वोच्च अदालतले पूर्व डिआइजी नवराज सिलवालले बुझाएको विवरण त्रुटिपूर्ण र नक्कली भएको ठहर गर्दै अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको छ।बिहीबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले सिलवाललाई कारबाही गर्न आदेश दिएको हो ।
फैसलामा सिलवालले अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)मा बढुवाका लागि बुझाएको विवरण त्रुटिपूर्ण र नक्कली रहेको ठहर गर्दै कारबाही गर्न आदेश दिएको हो ।
प्रहरी महानिरीक्षकमा बढुवा प्रकरणका बारेमा फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै सर्वोच्चले लोकसेवा लगायतका निकायमा अति गोप्य रहने कार्यसम्पादन मूल्यांकन सिलवालले प्राप्त गर्नु अवैधानिक भएको भन्दै उनले अदालतमा केरमेट गरेर बुझाएको भन्दै अनुसन्धान गरी कारबाही गर्न आदेश दिएको हो।
त्यस्तै अदालतले कासमू फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषीउपर कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको छ।
सिलवालले सरकारले प्रहरी महानिरीक्षकमा जयवहादुर चन्दलाई नुयुक्त गर्ने निर्णय गरेपछि आफू वरिष्ठ भएको र आफूलाई महानिरीक्षक बनाइयोस भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले वरिष्ठताका आधारमा महानिरीक्षक नियुक्त गर्न अन्तरिक आदेश दिएपछि सरकारले वरिष्ठताका आधारमा प्रकाश अर्याललाई महानिरीक्षक बनाएको थियो।
सिलवालले त्यसको केही समयपछाडि पदबाट राजीनामा दिइ एमाले पार्टी प्रवेश गरी ललितपुर १ बाट प्रनिनिधिसभा सदस्यमा विजयीसमेत भैसकेका छन्।