पाठेघर खस्नुका कारण र समाधान

  Manaslu Post  879 पटक हेरिएको


अर्चना बगाले, नर्स 

आफ्नो स्थानबाट पाठेघर ९युटेरस० बाहिर निस्कने वा आफ्नो ठाउँमा रहन नसक्ने अवस्थालाई पाठेघर खसेको भनिन्छ । महिला स्वास्थ्यका लागि धेरै कार्यक्रम अनि योजना बने पनि हाम्रोजस्तो विकासोन्मुख देशमा यो समस्या अझै टड्कारो रुपमा छ । महिला घरका कामदेखि लिएर घर बाहिरका काममा पनि उतिकै लागिपरेका हुन्छन् । गह्रौं काम गर्नेदेखि भारी बोक्नेसम्मका कामले बच्चा जन्माउने महिला जोखिममा पर्छन् ।

कारणहरु

– गर्भवती अवस्थामा पाठेघर तन्किएर ठूलो हुने भएकाले पनि पाठेघर खस्ने समस्या आउन सक्छ। गर्भावस्थामा पाठेघर तन्किएर ७० देखि १ हजार ग्रामसम्म पुग्ने गर्छ । उक्त अवस्थामा पाठेघरलाई सहयोग गर्ने मांसपेसी पनि कमजोर बन्न पुग्छ । पाठेघरलाई आराम नदिईकन छिटोछिटो बच्चा जन्माउनाले पनि पाठेघर खस्ने समस्या निम्त्याउँछ ।

– बच्चा जन्माउँदा लामो व्यथा लागेर वा उक्त समयमा राम्रो हेरचाह अनि सही तरिका अपनाइएन भने पनि पाठेघर कमजोर भई खस्न सक्छ ।

– बच्चा ठूलो भएमा वा एकभन्दा बढी बच्चा भएमा पनि पाठेघर खस्ने समस्या आउन सक्छ ।

– आमाको तौल बढी भएमा ।

– महिनावारी रोकिएपछि एस्ट्रोजेन हर्मोनको कमी भएर ।

– पाठेघरमा ट्युमर भएमा ।

– लामो समयसम्म खोकी लागिरहेमा ।

– कसै–कसैमा जन्मजात पाठेघरलाई सपोर्ट गर्ने मांसपेशी कमजोर भएमा ।

समाधानका उपाय
– परिवार नियोजनका साधन प्रयोग गरी जन्मान्तर बढाउने ।

– स्वास्थ्य संस्थामा बच्चा जन्माउने ।

– गर्भवती हुँदाको अवस्थामा गह्रौं सामन नउचल्ने ।

– आराम गर्ने ९सुत्केरी अवस्थामा ।

– पाठेघरमा ट्युमर पलाएको छ भने उपचार गर्ने ।

– लगातार खोकी वा कब्जियत भए, त्यसको समयमै समाधान खोज्ने ।

– तौल नियन्त्रण गर्ने।

केगल व्यायम
पाठेघरको मांसपेशी अनि पाठेघरलाई सपोर्ट गर्ने मांसपेशीलाई बलियो बनाउनका लागि यो व्यायम गरिन्छ ।

पिसाब फेरिरहेको बीचको बेलामा पिसाब रोक्न खोज्ने, रोक्ने अनि फेरि फेर्ने अथवा ‘पेल्भिक फ्लोर’का मांसपेशीलाई कडा बनाउने ९१ देखि १० सम्म० अनि बिस्तारै खुकुलो बनाउने अभ्यास जुनसुकै बेला गर्न सकिन्छ ।

जनचेतना अभावका कारण पनि पाठेघर खस्ने समस्या न्यूनीकरण भइरहेको छैन। त्यसैले जनचेतना जगाउन अत्यन्त जरुरी छ । अर्को भनेको, नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र त्यसका लागि प्रोत्साहन गर्ने काम पनि उत्तिकै जरुरी छ ।

सरकारी अनि गैरसरकारी संस्थाबाट महिला स्वास्थ्यका लागि धेरै योजना र कार्यक्रम लागू भए पनि ग्रामीण भेगका महिलाको हितमा अझै प्रगति हुन सकेको छैन । सहरी भेगमा केही सकारात्मक सुधार भए पनि ग्रमीण भेगका महिलाको स्वास्थ्यमा उल्लेख्य सुधार आउन सकेको छैन ।

अतः पाठेघर खस्ने समस्या महिला स्वास्थ्यका लागि प्रमुख चुनौती बनेको छ । यसको न्यूनीकरण गर्न महिला स्वयंजागरुक हुन आवस्यक छ । तसर्थ, आफ्नो प्रजनन अधिकार र स्वास्थ्यका लागि महिला स्वयं सुसूचित हुन उतिकै जरुरी छ । स्वास्थ्यखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार