गोरखा, १३ पुस । गोरखामा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामना गोरखाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने गोरखाको सुन्तला ब्राण्ड नै बनिसकेको छ ।
गोरखाको सुन्तला भनेपछि सजिलै बिक्री हुने हुँदा व्यापारीले अन्यत्र फलेका सुन्तलालाई मनकामनाको भन्दै बिक्री गर्ने गरेका छन् । तर मनकामना क्षेत्रमै बर्षेनी सुन्तला उत्पादनमा गिरावट आएको छ ।
सुन्तलाको बोट टुप्पोबाट मर्ने समस्याले किसान हैरान भइसकेका छन् । वर्षौ देखि सुन्तला खेती गर्दै आएका गोरखाका किसानहरु बर्षेनी सुन्तला उत्पादन घट्दै गएकोमा निराश छन ।
“सुन्तला बेचेर तीन÷चार लाख पनि कमाई, हुने गोरखामा, “बर्षेनी सुन्तला उत्पादन घटेको छ । आम्दानी रु दुई लाख, रु एक लाख हुँदै रु ५० हजारमा झ¥यो ।” गोरखामा सुन्तला मात्रै होइन, मनकामना तथा घैरुङ क्षेत्रमा खेती गरिएका सुन्तलाका बोट सुकेपछि उत्पादनमा ह्रास आएको हो ।
सुन्तलाको बोट मर्ने समस्याबाट हैरानी खेप्नु परेको किसानहरुको भनाइ छ । “हलक्क बढेको सुन्तलाको टुप्पो सुक्दै आउँछ । वर्षदिनमा बोट नै सलक्कै सुक्छ । बगैँचाका सुन्तलाका बोट काट्दै दाउरा बनाएका छौँ,” एक किसानले भने ।
गोरखामा करिब ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको भए पनि बोट मर्ने समस्याको उपचार जिल्ला कृषि विकास कार्यालयबाट हुन सकेको छैन । सुन्तला उत्पादन हुने पकेट क्षेत्र मानिएका मनकामना, घैरुङ, ताङ्लीचोक, फुजेल, फिनाम, देउराली, मास्किछाप, तिनमाने, ताक्लुङ, डाँडागाउ, मकैसिङ दर्बुङ, लगायत गाउँमा बर्षेनी सुन्तला उत्पादनमा ह्रास आएको छ ।
सरकारी तवरबाट बर्षेनी सुन्तला बगैँचा सुधार गर्न लाखौँ बजेट परिचालन गरिएको भए पनि सुधार भएको छैन । वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले सुन्तलाको बोट मर्ने समस्याको समाधान गर्न नसकिएको प्रतिक्रिया दिँदै भन्नुभयो, “सिँचाइ सुविधा नहुँदा पनि सुन्तलाको उत्पादनमा बर्षेनी ह्रास आएको हो ।” बगैँचाको स्याहार नहुनु, सिँचाइ तथा मलखादको उचित व्यवस्थापन गर्न नसक्नु तथा सुन्तला फूल फूलेपछि असिना आउनाले उत्पादनमा गिरावट आएको श्रेष्ठले बताए ।