पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा सडक महोत्सव सुरु भएको छ । पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान)पोखराद्धारा आयोजित पाँच दिने महोत्सव सभासद रवीन्द्र अधिकारीले बिहीबार उद्घाटन गरे । ‘लेकसाइडको चुल्होमा संसारभरका खाना पाक्छ, अनि हामी पर्यटकको लागि सडकमै खाना पस्कनु महोत्सवको विशेषता हो’, रेवानका पूर्व अध्यक्ष तथा मेलाका परिकल्पनाकार गणेशबहादुर भट्टराईले भने, ‘सडकमै सडकमै खाऊँ, सडकमै नाचाँं र सडकमै रमाऔं भन्ने नारालाई हामी व्यवहारमा उतार्दै छौँ ।’
पर्यटकीय क्षेत्रमा पुसलाई ‘अफ सिजन’ मानिन्छ। क्रिसमस र अङ्ग्रेजी नयाँ वर्ष मनाउन विदेशीहरु आफ्नै देश फर्कने तथा चिसोको कारण पदयात्रा लगायतका गतिविधिहरु समेत सुस्ताउने बेला आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रेवानले सडक महोत्सवको अवधारणा भित्र्याएको हो ।‘१९औं संस्करणसम्म आइपुग्दा महोत्सव देशकै प्रमुख पर्यटकीय पर्व बनेको छ’, रेवानका अध्यक्ष चौबहादुर गुरुङले भने, ‘महोत्सवकै कारण विदेशी पर्यटकहरु पोखरामै अडिने वातावरण पनि बनेको छ ।’
पोखरा र आसपासको कला,संस्कृति अनि रहनसहनबारे विदेशीलाई जानकारी दिने माध्यम पनि मेला नै बनेको उनको बुझाई रहेको छ । लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिहीकोपाटनसम्मको ३ किलोमिटर क्षेत्रमा हुने महोत्सवमा ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने उनले अनुमान लगाए । मनोरञ्जनात्मक गतिविधिका लागि कोमागाने पार्कमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको उनले बताए । उनका अनुसार महोत्सवमा राष्ट्रिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङसेलो, लगायतका सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् ।