देशै भरी चरावर्षलाई बिदाई गरी कुकुर वर्षको स्वागत गर्दै गुरुङ समुदायले तमु ल्होसार हर्ष उल्लासका साथ मनाएका छन्।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ अर्थात नयाँ वर्षको रुपमा गुरुङ समुदायले मनाउँदै आएको तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए। हरेक वर्ष पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनउँदै आइएको छ।
ल्होसारको अवसरमा गाउँघर जान नपाएकाहरुले टुडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरेका छन्। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा यो पर्व भव्यताकासाथ मनाउँछन्।
शनिबार बिभिन्न ठाउँबाट राजधानी आई बसोबास गरेका गुरुङ समुदायले टुँडीखेलमा विशेष कार्यक्रमसहित यो पर्व मनाएका छन्। ल्होसारको विशेष कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत उपस्थित भएर हौसला प्रदान गरेका छन्।