छुट्टाछुट्टै कार्यक्रममा भाग लिन बाबुराम र नारायणकाजी गोरखा पुगे

  कल्पना थापा  675 पटक हेरिएको

गोरखा, प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट सँगै चुनाव लडेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ शुक्रबार गोरखामा आइपुगेका छन्। उनीहरु छुट्टाछुट्टै कार्यक्रममा भाग लिन गोरखा आएका हुन्। भट्टराई सम्मान लिन र मतदातालाई धन्यवाद दिन आएका हुन् भने श्रेष्ठ पनि गोरखा नगरपालिकाको १२, १३ र १४ नम्बर वडाका मतदातालाई धन्यवाद दिन आएका हुन् ।

माओवादी नेता श्रेष्ठ वाम गठबन्धन निकट ट्रेड युनियनले शनिबार आयोजना गर्ने वनभोज कार्यक्रममा सहभागी हुनेछन्। भट्टराईलाई उनले पढेको विद्यालय पालुङटार लुइटेलको अमरज्योति माविले सम्मान कार्यक्रम राखेको छ । विद्यालयले उनीसँगै गोरखा क्षेत्र नं २ क प्रदेशमा निर्वाचित भएका नयाँ शक्ति पार्टी नेपालकै हरिशरण आचार्यलाई पनि बधाई तथा सम्मान गरेको छ ।

बाबुराम भट्टराई र हरिशरण आचार्य दुवैले विद्यालय तह अमरज्योति माविमै पढेका हुन् । बाबुरामले शुक्रबार विहानै पालुङटार नगरपालिकाको विभिन्न टोलटोलमा पुगेर मतदातालाई धन्यवाद ब्यक्त गरेको नयाँ शक्तिका जिल्ला नेता अशोक देवकाटाले जानकारी दिए। ‘मलाई निर्वाचित गराउनु भएकोमा धन्यवाद’ बाबुरामलाई उदृत गर्दै देवकोटाले भने ‘म पालुङटार, क्षेत्र नं. २ र समग्र गोरखाको विकासमा आफ्नो कार्यकाललाई केन्द्रित गर्नेछु ।’

माओवादी केन्द्रका नेता श्रेष्ठले पनि मतदातालाई धन्यावाद दिदै भनेका छन् ‘चुनावमा मलाई जतिले भोट हाल्नु भो उहाँहरुलाई धन्यवाद। चुनाव हो हार जित पक्कै हुन्छ । मैले चुनाव नजिते पनि गोरखाकालीको माग र विकासमा मेरो ध्यान केन्द्रित हुने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार