तनहुँ, व्यास नगरपालिका २ दमौली बागबजार टोलस्थित बुल्दिखोला नजिक पुस ११ गते हत्या गरिएका ओम सुनारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखा पालुङ्गटार ७ का २५ वर्षीय सुनारको हत्यामा संलग्न २ महिलासहित ५ जनालाई प्रहरीले प्रहरीले अनुसन्धानको क्रममा पक्राउ गरेको हो।
व्यास ११ भर्याङ्दीका ३२ वर्षीय ठुने भनि चिनिने महेन्द्र गुरुङ, सोही ठाउँका ट्वाके माइला भनिने ४२ वर्षीय रुपसिंह गुरुङ, गोरखा धोर्जेठाँटी स्थायी घर भइ तनहुँको व्यास नगरपालिका १ गल्बुवेशीमा डेरा गरी बस्ने ३१ वर्षीया विपना भन्ने निर्मला गुरुङ र स्याङ्जा पौवेगौडे स्थायी घर भइ तनहुँ व्यास नगरपालिका १ गल्बुवेशी डेरा गरी बस्ने ३३ वर्षीया विमला गुरुङलाई पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। प्रहरी नायव निरीक्षक मनोज पाण्डेको नेतृत्वमा खटिएको टोलीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। हत्यामा संलग्न निर्मला र विमला दिदीबहिनी रहेको खुलेको छ।
टोलीले हत्यामा संलग्नबीच एक होटलमा खाजा खाँदै झगडा गर्दा दुवै दिदीबहिनीलाई सुराकीको भरमा पक्राउ गरेर सोधपुछ र अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न सबैलाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए। उनीहरुलाई हत्यामा संलग्नहरुले ढुङ्गा हानी सुनारको हत्या गरेको भन्ने बारेमा थाहा भए पनि कोही कसैलाई नभनी बसेको उनीहरुले प्रहरीसामु खुलाएका छन्। सुनारलाई ढुङ्गाले हानी कर्तव्य गरी मार्ने तथा मार्नको लागि सहयोग गर्ने, घटना लुकाई दबाउने कार्यमा संलग्न निर्मला गुरुङसमेत अन्य व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए।
कर्तव्य ज्यान मुद्दामा हत्यामा संलग्न ५ जनालाई तनहुँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।